वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय भएको छैन : मन्त्री महासेठ



काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सो दाबी गरेका हुन् । 

 

साक्षात्कारमा बोल्दै उनले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

 

उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामवीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ । तर, राजीनामा दिनुभएको छैन । र, उहाँले राजीनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजीनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

 

साक्षात्कारमा बोल्दै उनले सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस्