‘लकडाउन’ भएको एक दिन नवित्दै वीरगन्जमा कालाबजारी शुरु



वीरगन्ज : सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन लकडाउन गरेको एकदिन नवित्दै वीरगन्जका थोक तथा खुद्रा व्यापारीहरुले कालाबाजारी शुरु गरेका छन् ।

नेपालमा ग्यास, खाद्यान्न लगायत दैनिक उपभोग्य गर्ने बस्तु प्रत्याप्त मात्रामा रहेकोले अभाव नहुने बताई रहेको बेला यहाँका थोक तथा खुद्रा विक्रेताहरुले कृत्रिम अभावको नाममा कालाबाजारी गरीरहेका हुन् ।

वीरगन्जको मुख्य तरकारी बजार मिना बजारमा खुलेयाम कालाबजारी गरीरहँदा स्थानीय प्रशासन भने मौन बसेका छन् । सरकारले लागू गरेको लकडाउनको निर्देशनलाई पालना गराउँने क्रममा स्थानीय प्रशासनले नै खाद्यान्न लगायत अतिआवश्यक बस्तुको लागि खुलेका पसलहरु बन्द गराएपछि कृत्रिम अभावको बहानामा कालाबजारी हुन थालेको हो ।

यद्यपि, सरकारले नै अतिआवश्यक मानिने खाद्यन्न, पेट्रोल पम्प, ग्यास, तरकारी तथा फलफुल, दुध, स्वास्थ्य सेवा, औषधी सेवा बाहेकका बन्द गर्ने आग्रह गरेको छ ।

सरकारको निर्णयलाई नै उल्टाउँदै स्थानिय प्रहरीले बजारका तरकारी तथा खाद्यन्न पसलनै बन्द गराउँदै हिडेका छन् ।

वीरगन्जको मुख्य तरकारी बजार मानिने मिना बजार प्रहरीले नै बन्द गराएको छ । बिहान लागेको तरकारी बजार हटाउँने क्रममा प्रहरी र तरकारी व्यापारीबीच झडपको स्थिती सिर्जना समेत भएको थियो । प्रहरीले जबरजस्ती पसल बन्द गराउँदै तरकारीका बोराहरु खोस्न थालेपछि तरकारी पसलहरु धमाधम बन्द भएको थियो ।

सरकारले खाद्यान्य अतिआवश्यक रहेको भन्दै सो भिडभाड नगरी आलैपालो तरकारी लिन सक्ने जनाएको छ । तर वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीहरुले पसल बन्द गराउन थालेपछि वीरगन्जमा आलु, प्याज जस्ता खाद्यान्नहरुमा कालाबजारी बढदै गएको जनाईएको छ ।

आइतबारसम्म ५० किलोको आलुको बोरा १२ सयमा खरिद विक्री भएको थियो तर आज अचानक कृत्रिम अभावको नाममा ३ हजार बोरा मूल्य राखेर विक्री गरीरहेका छन् । व्यापारीहरुले प्रतिकिलो २५ देखि ३० रुपैया पाउँने आलु अहिले ५५ देखि ६० रुपैया किलोसम्म विक्री गरीरहेका छन् ।

त्यसैगरी प्याजको मुल्य समेत एकदिनमा अकाशिन थालेको छ । प्रतिकिलो ४५ रुपैयामा पाउँदै आएको प्याजको मुल्य बढाएर अहिले ६० देखि ७० रुपैया राखेका छन । टमाटरको समेत मृल्यमा बृद्धि गरी सकेको छन । सोमबार मात्र प्रतिकिलो २० देखि २५ रुपैयासम्म विक्री भएको टमाटरको एकाएक भाव बढाएर ८० देखि १०० सम्म पु¥याएका छन ।


हरियो खुर्सानी ७० रुपैयाबाट ३ सय प्रतिकेजी पु¥याएका छन । २० रुपैया प्रतिकिलो पाउँने फुलकोभीको मुल्य आज बढाएर ६० देखि ७० रुपैया गरेका छन । खाने तेल देखि लिएर दाल, चामल र पिठोमा समेत मृल्य बृद्धि गरेर खुलेयाम कालाबजारी गरीरहँदा समेत अनुगमन निकाय मौन देखिएको छ ।

वीरगन्ज बजारमा आधादर्जन भन्दा बढी विभिन्न कम्पनीका ग्यास डिलर छन । तर एउटा पनि खुलेको छैन । सरकार संग पर्याप्त मात्रामा ग्यास पनि स्कोट छ । सेवागा्रहीहरु ग्यासको खोजीमा लक डाउन उलंघन गरेर बजारमा भौतारी रहेका छन तर ग्यास पाउँन सकेको छैन ।

१३ सय ५५ रुपैयामा पाउँने ग्यास २८ सय रुपैया तिरेर उपभोक्ताहरु बाध्य भएर कालोबजारी मार्फत ग्यास किन बाध्य भएका छन् । कालोबजारी गर्नेलाई सरकारले ६ महिना कैदको सजाय समेत तोकेको छ तर कानुनी कारवाहीको डर नै छैन कालाबजारी गर्नेहरुमा ।

महँगो मूल्य तिरेर पनि सहज रुपमा खाद्यन्न वस्तु पाईरहेको छैन, मिना बजारमा आलु खरीद गर्न आएका रन्जीत साहले भने, ‘महँगो मुल्य तिरेर पनि स्थानिय प्रहरीले गर्दा सहज रुपमा समान पाईरहेको छैन् । सरकारले जनतालाई मर्न नदिनको लागि लकडाउन गरेको छ, तर यहाँ कोरोनाबाट होईन खान नपाएर मान्छे मर्न लागेका छन् ।’

एक त लक डाउन हुनै बित्तिकै आलु, प्याज, हरियो तरकारी, ग्यास जस्ता अतिआवश्यक खाद्यान्न सामग्रीका पसलहरु बन्द भएको छ । खुल्ला रहेको ठाउँमा पनि प्रहरीले बन्द गराउन थालेपछि कालाबजारीयाहरुको मनोबल बढन थालेको अर्का एकजना उपभोक्ताले गुनासो गरे ।

मिना बजारमा केही खुलेका आलु, प्याज गदीमा साविकका दर भन्दा दोब्बर दरमा विक्रि गरिरहदा प्रहरी प्रशासनले त्यस्ता कालाबजारीयाहरुलाई निरुत्साहित गर्नुको साटो झन प्रोत्साहन दिईरहेको आलु लिन गदीमा पुगेका स्थानियहरुले गुनासो गरेका छन । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले आफूले तरकारी तथा खाद्यान्न पसलहरु बन्द गर्न कुनै निर्देशन नदिएको बताउँदै घटना बारे बुझने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्