लकडाउन उल्लङ्घन गर्ने ६८ जना पक्राउ



काठमाडौं : देशभरबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् ।

सरकारले मंगलबारबाट एक साताका लागि देशभर आह्वान गरेको उल्लङ्घन गर्नेलाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

विश्‍वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्