सिन्धुलीमा थप एक जनालाई आइसोलेशनमा राखियो, १० जना होम क्वारेन्टाइनमा



सिन्धुली : सिन्धुली अस्पतालमा आज थप एक जनालाई कोरोनाको आशङ्कामा आइसोलेशन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।

अरु १० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नं २ का १९ वर्षीय एक युवकलाई आइसोलेशनमा भर्ना गरिएको हो । भारत सिलगुढीबाट सोमबार घरमा आएका उनलाई खोकी लागेपछि आइसोलेशनमा भर्ना गरिएको हो ।

उनलाई सिलगुढीमै ज्वरो आएको र सिन्धुली फर्केपछि खोकी लागेकाले सिन्धुली अस्पतालमा आएका थिए । उनको स्वास्थ्यवस्था सामान्य भएको अस्पतालका डा प्रसन्न राजभण्डारीले बताए ।

उनका अनुसार युवकको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँस्थित टेकु अस्पताल पठाइएको छ ।

यस्तै भारतमा रोजगारीमा गएर फर्केका १० युवालाई आज होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सिन्धुलीका स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका थिए ।

उनीहरुले क्वारेन्टाइनमा बस्न रुचि देखाएपछि अस्पतालले होम क्वारेन्टाइनमा राख्न सिफारिस गरेको डा राजभण्डारीले बताए । अस्पतालमा गत बुधबार ज्वरो अत्यधिक आएपछि अस्पताल ल्याइएका कमलामाई नगरपालिका वडा नं ७ का ८१ वर्षीयलाई अस्पतालको आइसोलेशन वार्डमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ ।

उनको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ देखिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्