‘लकडाउन’को दोस्रो दिन : धनुषामा २१ जना पक्राउ, ९४ वटा सवारीसाधन नियन्त्रणमा



जनकपुरधाम : सरकारी आदेशको पालना नगरि लकडाउनको उल्लंघन गरेको भन्दै आज दोश्रो दिन धनुषा प्रहरीले २१ जना मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कोरोनाभाइरसबाट भयावह स्थिती आउन सक्नेभन्दै हिजो (मंगलबार) बिहान ६ बजेबाट लकडाउन घोषणा गरिएपनि सवारीसाधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै प्रहरीले धनुषा जिल्लाका विभिन्न स्थानहरुबाट समाचार तयार पार्दासम्म २१ जना मानिस र ९४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरि अटेर गरेकाले उनीहरूलाई सवारी साधन सहित नियन्त्रणमा लिइएको बताए ।

मोटरसाइकल, अटो रिक्सा, ट्याक्टर गरि अहिलेसम्ममा ९४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

डीएसपी कार्की नेतृत्वको प्रहरी टोलीले कुर्थाबाट ४ जना, पिडारी चोकबाट ३ जना र जिल्लाका अन्य विभिन्न स्थानहरुबाट १४ जना गरि समाचार तयार पार्दासम्ममा २१ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको सञ्चार शाखाले जानकारी दिएको छ ।

यसअघि हिजो मात्रै प्रहरीले धनुषाका बिभिन्न स्थानबाट ३ सय ६९ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले देशभर मंगलबार बिहान ६ बजेबाट लकडाउन घोषणा गरेको हो ।

जसअनुरुप नागरिकहरुलाई अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्