कर्णाली प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित



सुर्खेत : कर्णाली प्रदेश सभाको बुधवारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदलाई विजनेश नदिएको, अझै पनि सरकारले योजना अनुसारको बजेट विनियोजन गर्न नसकेको, रातो किताब निकाल्न नसकेको बताउँदै संसदमा अवरोध गरेपछि मंगलबार बैठक स्थगित भएको थियो ।

 

सभामुख राजबहादुर शाहीले संसद सुचारु गराउन बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि कुनै टुंगो लाग्न सकेन । कार्यव्यवस्था परामर्श समितिका सदस्य गुलावजंग शाहले छलफलमा रातोकिताब सरकारले तत्काल ल्याउनुपर्ने र संसद तथा मन्त्रीको सेवा सुविधाबारे निर्णय नगरेसम्म सदन नचल्ने अडान कांग्रेसले राखेपछि सदन चल्न सकेन । 

 

‘उहाँहरूले बजेट पारित भएको लामो समय बित्दा समेत सरकारले रातो किताब नल्याएको भन्दै विरोध गर्नुभएको हो,’ नेकपा सांसद शाहले भने, ‘यसका अतिरिक्त सांसद तथा मन्त्रीहरूको सेवासुविधा पनि तत्काल खुलाउनुपर्ने माग गर्नुभएको छ । उहाँहरू आफ्नो अडानमा कायमै हुनुहुन्छ ।’

 

प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले नयाँ भवनमा बैठक बोलाइएपनि सरकारले व्यवहार पुरानै देखाएका कारण संसद अवरुद्ध गरेको बताए । उनले नयाँ भवनमा सरकारले नयाँ विधेयक टेबुल गर्नुको साटो गत असार ८ गते संसदमा टेबल भएको विधेयक पेश गरेका कारण पनि सदन अवरुद्ध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्