सरकारको ‘लकडाउन’ व्यवसायीका लागि ‘लुटडाउन’



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणबाट बच्न नेपाल सरकारले हिजो (मंगलबार)देखि एक हप्ताका लागि देशभरि लकडाउन गरेको छ । तर, सरकारको लकडाउन अहिले केहि व्यवसायीका लागि ‘लुटडाउन’ बनेको छ । बजारमा अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव देखिएको छ ।

बजारमा खाना पकाउने एलपीजी ग्यास, दैनिक उपभोग्य वस्तुहरु आलु, प्याज, हरियो सागसब्जी, तेललगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का ईन्द्रेश झाले भने –‘किराना पसल चलाउने व्यापारीलाई समेत प्रहरीले पसल बन्द गराएपछि उनीहरुले घरभित्रै खाद्यान्न सामग्री भण्डारण गरेर राखेका छन् । तर, किन्न जाँदा २५ रुपैयाँको सामानको मूल्य उनी ६० रुपैयाँ बताउँछन् ।’

दुईदिन अगाडी २५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुँदैआएको आलु अहिले किलोको ६० रुपैयाँ, प्याज ८० रुपैयाँ र हरियो सागसब्जीको मूल्य पनि अप्रत्याशित रुपमा बिक्रेताहरुले बढाएको ईन्द्रेशको गुनासो छ ।

यता बिक्रेताहरु भने आफुहरुलाई डिलरबाटै अधिक मूल्यमा सामान किन्नुपर्ने भएकोले आफुहरुले पनि खुद्रा बिक्री गर्दा मूल्य बढाउनुपर्ने बाध्यता रहेको बताउँछन् ।

स्थानीय व्यापारी शम्भु साहले भने,‘सामानको अभाव हुनसक्ने आशंकामा उपभोक्ताले बढी आवश्यकता भन्दा बढी सामान खरिद गर्न थालेपछि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको हो ।’

सरकारले भने अत्यावश्यक वस्तुको पर्याप्त स्टक रहेकाले अभाव नहुने दाबी गरिरहेको छ । ग्यास,नुन,दाल,चामल,आलु,प्याज लगायतका दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने सरकारको भनाइ छ ।

यसअघि बजारमा मास्क र सेनिटाइजरको कृत्रिम अभाव गर्ने व्यवसायीलाई कारबाही गरिएपनि अब अत्यावश्यक वस्तुको अभाव देखाएर अस्वभाविक मूल्यबृद्धि गरि उपभोक्ता ठगी गरिरहेको देखिएको छ।

बजारमा हुने कालोबजारी,कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारी तवरबाट अहिलेसम्म कुनै प्रयास नभएको उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्