सहिदमाथिको भद्दा मजाक !



सहिद शब्द आफैंमा यति गर्विलो छ, जसको वर्णन केही हरफ शब्दहरुमा असम्भव छ । जसले देश र नागरिकको हीतमा आफ्नो जीवन समर्पण गर्दछ, उसलाई हामी सहिद मान्दछौं । र, सम्मान गर्दर्छौं । तर, हाम्रो देशमा सहिद शब्दलाई बिकृत पारिएको छ । सहिदलाई उपेक्षा मात्रै होइन, घोर अपमान गरिएको छ ।

केही राजनैतिक दलका मरेका मान्छेहरुलाई पनि सहिदको कोटामा राखिँदा खास सहिदको अपमान भएको छ । यहाँ त राजनैतिक दलहरुले सहिदको नाममा व्यापार गरेका छन्, र त आज सहिदको मर्म मरेको छ ।

सहिद हुनुमा गर्व हुन्थ्यो कुनै बेला । देश र जनताका लागि ज्यान आहुती दिएर देशको इज्जतखातिर लड्नुमा शान थियो । आफ्नो ज्यानभन्दा देशको माया छातीमा राखेर हाँसीहाँसी बलिदान दिएका हाम्रा खास चार वीर सहिदहरुको अहिले अपमान भइरहेको छ । 

हरेक वर्षको माघ १६ गते, एउटा औपचारिकतामा टारिन्छ, सहिद दिवसलाई । तत्कालिन जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको उज्यालोका खातिर हाँसिहाँसी फाँसी चड्न तयार भएका नेपालका खास चार सहिदहरुः शक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स्मृतिमा सहिद दिवस मनाउन थालिएको हो । 

पछिल्लो समय राजनैतिक दलैपिच्छेका सहिदहरुको भीडमा चार सहिदको उपेक्षा भएको र सहिदको मर्ममाथि प्रहार गरिएकोमा धेरैले चिन्ता व्यक्त गरेका छन् । हो, अचेल नेपालमा सहिदको सम्मान क्रमशः खिइरहेको छ । कमजोर भएको छ । र, सहिद भन्नुमा खास ओजिलो गर्व छैन ।

विभिन्न राजनीतिक आन्दोलनमा मारिएका मात्रै होइनन, दुर्घटनादेखि गुट–गुटबीचको झगडाका कारण मरेर सहिद घोषणा गरिएकाहरुको फेहरिस्त नै वेवारिस जस्तै छ । जब औसत र सामान्य मृत्युलाई पनि सहिदको संज्ञा दिन थालियो, तब सहिदको मर्यादामाथिको प्रहार सुरु भयो । र, अब यो देशमा सहिद पनि सक्कली र नक्कली छुट्याउनु पर्ने भएको छ । देश र जनताका निम्ति लड्दालड्दै ज्यानको आहुती दिएका वास्तविक सहिदहरुप्रति भन्दा जातजाति र वर्गीय सहिदप्रतिको सम्मान बढि खोजिन थालिएको छ । जुन खास सहिदमाथिको खेडबाड र मजाक हो । 

खासगरी लोकतन्त्रपछिका दिनहरुमा अराजक राजनीतिकै कारण यो देशमा मौलाएको ब्यापार र उद्योगजस्तै भएको छ सहिद । संसारमा नेपाल मात्रै यस्तो देश हो जहाँ मरेको मान्छेलाई सहिद घोषणा गर्न जबर्जस्त राजनीति गरिन्छ । यो वा त्यो दल र गुट उपगुटमा लागेको ब्यक्ति घरायसी कारण वा गुटगत कारणले म¥यो भने पनि उसलाई सहिद घोषणा गर्न लगाएर राज्य कोषबाट जबर्जस्त दश लाख क्षतिपूर्ति भराइन्छ ।

मानौं दश लाखका निम्ति मर्छ मान्छे र दश लाखकै निम्ति सहिद बन्छ । देशले सम्मान गरोस वा नगरोस् जनताले उसलाई सहिद सम्झिउन् वा नसम्झुन् ? तर गुटगत प्रतिपस्र्धाका निम्ती सहिद बनाउनेमा कुनै दल चोखा छैनन् । द्धन्द्धकालमा मारिएका आफ्ना आठ हजार कार्यकर्ताहरुलाई एकलौटी गोलमटोल सहिद घोषणा गरेको एकीकृत नेकपा माओवादी होस् वा मधेस आन्दोलनका नाउँमा वा यस्तै अन्य घटनामा राजीतिक रंग पोतिएका ब्यक्तिहरु मरेपछि मधेसले घोषणा गर्दै आएका सहिदहरु होउन् । 

हुनतः सहिद घोषणाका लागि कुनै कानुनी प्रावधान हुँदैन । तर, यसका केही खास मापदण्ड र मान्यताहरु भने अवश्य हुन्छन् । यहाँ त मान्यता र मापदण्डमाथि प्रहार गरिएको छ । ख्यालख्यालमा मर्नेहरुलाई पनि सहिद भनिँदा, जसले नेपाली हुनुमा गर्व गर्ने आधार बनाए, उनीहरुको उपेक्षा भएको छ । अपमान भएको छ ।

मापदण्ड होस्, कार्यान्वयन होस् 

औसत मृत्यु भएकाहरुलाई पनि सहिद भनेर खास सहिदको मर्ममाथि कठोर प्रहार भइरहेको यथार्थकाबीच सहिद घोषणाको मापदण्डका विषयमा पनि कुरा उठेको छ । इतिहासका जानकारहरुले यस विषयमा बारम्बार कुरा उठाए पनि त्यो ब्यबहारतः लागू हुन सकेको छैन ।

सहिदको परिभाषा र मापदण्ड अहिलेका राजनीतिक दलहरुको ब्यवहारले देखाएजस्तो किमार्थ होइन । नेपाली शब्दसागरका अनुसार कुनैपनि शुभ परिणामका निम्ती लाग्दालाग्दै प्राण गुमाउने ब्यक्ति, देश, जाति र जनताको सुखका निम्ती संघर्ष गर्दागर्दै मरेको ब्यक्ति नै शहिद हो । तर यो परिभाषा सिर्फ शब्दकोषमा लिपीबद्ध छ । ब्यवहारतः लागू भएको छैन । र, सहिद शब्द दश लाखको ब्यापार जस्तै बन्न थालेको छ ।

राजनीतिक दलहरुले जथाभावी सहिद घोषणा गर्न थालेपछि सहिदहरुलाई पनि सामान्य सहिद र आदर्श सहिदका रुपमा वर्गीकरण गरेर हेर्नुपर्ने बेला आएको छ । जो जसरी मरेपनि सहिद बनाउने राजनीतिक दलहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण सहिदको अवमूल्यन भइरहेको हो । 

सहिद हुनका निम्ती निश्चित मापदण्डहरु समाविष्ट छन् । सहिद शब्द अहिलेका राजनीतिक दलहरुले ब्यवहारत परिभाषित गरेजस्तो सस्तो र अवमुल्यनकारी हुँदै होइन । मृत्यु होस् त त्यस्तो होस आदर्श र लक्ष्यका साथ लड्दा लड्दै, मारिदै छु भन्ने थाहा पाउदा पाउदै निर्भिक भएर मरेको होस् । जसलाई साराले सम्मान गरोस् उसको मृत्यु र सहादतलाई इतिहासले पनि पूजा गर्न सकोस्, उसको मृत्युसंग पक्ष र प्रतिपक्षको समेत एकै आवाज गुन्जियोस् अनि पो सहिद । अनि पो अमर मृत्यु । 

देशको यूगिन परिवर्तनका लागि आफ्नो ज्यान आहुती दिएका अमर वीरहरु: जसको मृत्यु नै अमर छ र जसको शरीरबाट चुहिएको थोपाथोपा रगतले परिवर्तनको इतिहास लेखिएको छ । जहानियाँ राणाकालको एकतन्त्र शासन भत्काउन हाँसी हाँसी फाँसी स्वीकार गरेका चार आदर्श सपुतलाई यो देशले खास सहिदको रुपमा मान्दै आएको छ । तर, पछिल्ला दिनहरुमा सहिदको नाउँमा यो देशमा जे भइरहेछ त्यसले विस्तारै विस्तारै नेपाली स्वाभिमानलाई नै धुमिल बनाउदै लगेको छ ।

राजनीतिक दलहरुले सहिदको ब्याख्यामा ब्यवहारतः अपमान गर्न थालेपछि हरमृत्यूमा सहिदको लोभ देखिन थालेको छ । राजनीतिक रंग पोतिएका ब्यक्ति जो मरेपनि सहिद भनिन थालेपछि यसले शहिदको शब्द र ब्याख्यामा आँच पु¥याउन थालेको हो । सहिदको अपब्याख्या हुदा देशप्रति योगदानको पनि अभाव बढेको छ र यसले सहिदको सम्मान र त्यागमा पनि धब्बा लाग्न थालेको छ । 

जो कोहीले पनि भन्न सक्ने र औलामा गन्न सकिने केही आदर्श सहिदहरु बाहेक अरुलाई चिन्न समेत कठिन छ । यसर्थ आमनागरिकले स्विकार्न सक्ने, जसले हाँसीहाँसी देश नागरिककालागि ज्यानको आहूती दिएका छन् । उनीहरुलाई मात्रै सहिद भनियोस् । जसकालागि खास मापदण्ड तोकियोस् । 

प्रतिक्रिया दिनुहोस्