प्रदेश २ सरकारले खाद्यान्न सामग्रीको ‘होम डेलीवरी’ गर्ने



जनकपुरधाम– देशभरी कोरोना भाईरसको संक्रमणका कारण लकडाउन गरिएको अवस्थामा गरीव,विपन्न परिवारका व्यक्ति खाद्यान्न अभाव झेलिरहेको अवस्थालाई मध्यनजर गर्दै भोली (बिहीबार) देखि प्रदेश २ सरकारले घरघरमा खाद्यान्न सामग्री पुर्याउने योजना बनाएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले द नेपालटपसँग कुराकानी गर्दै गरीव,विपन्न परिवारका व्यक्तिलाई खाद्यान्नको आपूर्ति प्रदेश सरकारले गर्ने जानकारी दिएका छन् । उनले भने,’भोली (बिहीबार) बस्ने मन्त्री परिषदको बैठकले लकडाउनको अवस्थालाई दृष्टिगत गर्दै प्रदेश सरकारले सुरक्षाकर्मीको टिम परिचालन गरेर घरघरमा खाद्यान्न सामग्री वितरण गर्नेछ ।’

उनले प्रत्येक स्थानीयतहको माध्यमबाट प्रत्येक गरीव,विपन्नहरुको घरमा १० किलो चामल,२ किलो दाल,नून,तेल,तरकारी लगायतका खाद्यान्न सामग्रीहरु बाँड्ने सरकारको योजना रहेको बताए । साथै गोजीमा पैसा भएरपनि यस्तो विषम परिस्थितिमा बजार जान नसक्नेहरुका लागि पनि हामीले राहत प्याकेज बनाउन लागेको उनले जानकारी दिए ।

बजारमा केहि व्यापारीहरुले कालोबजारी गरिरहेको कुरा मैले पनि सुनेको छु,उनले भने,’त्यस्ता कालोबजारी गर्नेहरुमाथि कडाई गर्नका लागि प्रदेश सरकारले अनुगमन समिति बनाईसकेको छ । चाँडै त्यस्ताहरुमाथि कारवाही हुन्छ ।’

कोरोना भाईरसको अगाडी विकसित राष्ट्रहरू पनि नतमस्तक रहेको अवस्थामा हामीजस्ता उपकरण अभाव रहेको देशले यसमाथि जित हासिल गर्नु असम्भव रहेको बताउँदै मन्त्री यादवले जनताको हितका लागि कठोरताका साथ सरकारले लकडाउनको समयअवधि थप गर्नसक्ने स्पष्ट गरे ।

उनले कोरोना भाईरसको संक्रमणमाथि जित हासिल गर्न सरकारले लकडाउनको समय १५ दिन अझै थप्नसक्ने सम्भावना रहेको समेत जानकारी दिए ।

सातवटै प्रदेश मध्ये सबैभन्दा बढी जनघनत्व प्रदेश २ मै रहेको,बढि सिमानाकाहरु पनि प्रदेश २ सँगै टाँसिएर रहेको,स्वास्थ्य क्षेत्रको अवस्था पनि सबै प्रदेश भन्दा दयनिय प्रदेश २ कै रहेकोले लकडाउनको अर्को विकल्प नरहेको मन्त्री यादवको भनाइ छ ।

लकडाउनलाई प्रभावकारी तरिकाले अगाडी बढाउनुपर्ने अहिलेको नितान्त आवश्यकता रहेकोले यसका लागि सहयोग गर्न उनले सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्