बंगलादेशमा १९ जनालाई फासी



ढाका : बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिने फैसला गरेको छ। तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्‍यालीमा ग्रिनेड आक्रमण गरिएको थियो। आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए। 

 

तत्कालीन प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध आक्रमणको आरोप लागेको थियो। रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ। 

 

पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित छन्। भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन्। ‘हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं’, सरकारी वकील मोसाराफ होस्सैनले भने, ‘हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउनेछन्।’

 

उनले पूर्व गृहमन्त्री समेत दुईमन्त्री र जासूसी संस्थाका दुई पूर्वप्रमुखमाथि पनि मृत्युदण्डको फैसला भएको बताए। बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्य भएको छ। अझै पनि सयौं व्यक्ति मृत्युदण्डको पर्खाइमा छन्। सबैजसो मृत्युदण्ड झुन्ड्याएर दिने गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्