लकडाउनको उल्लंघन बढ्दो : थप प्रभावकारी बनाउँदै सरकार



काठमाडौं : सरकारले मगंलबारदेखि चैत १८ गतेसम्म लागू गरेको लकडाउन थप प्रभावकारी बनाउने भएको छ । लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकामा उल्लंघनका घटना बढेसँगै सरकारले लकडाउन थप प्रभावकारी बनाउन लागेको हो ।

चीनको वुहान प्रान्तबाट गत डिसेम्बार अन्तिम साताबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन अभियानलाई थप प्रभावकारी बनाउने भएको हा ।

हिजो बुधबार नेपालमा कोरोना संक्रमित थप अर्को व्यक्ति फेला परेसँगै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै लकडाउन प्रभावकारी बनाउने तयरी भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक घर बाहिर ननिस्कन पटक–पटक आग्रह गर्दै आएको छ ।

गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम संक्रमक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिएका छन् ।

यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो ।

आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा दिएको प्रहरी उपरीक्ष (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।

यता प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीका अनुसार अप्ठ्यारो परेकालाई सोधपुछ गरी छाडिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको छ । साथै उनले ‘यो संकटको बेला हामीले आफ्नो सुरक्षा आफैँ गर्ने हो’ र सबैले लकडाउनको पालना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्