त्रिविको बेसिक साइन्स भवनमा आइसोलेसन बेड राख्न सुरु



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयपरिसरका खाली भवनलाई आइसोलेसन केन्द्र बनाइने भएको छ । चिकित्सा शिक्षाका लागि तयार गरिएका बेसिक साइन्सका भवन खाली रहेकाले आइसोलेसन बनाउन लागिएको हो । 

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कीर्तिपुरमा सय बेडको आइसोलेसन बनाउन सकिने बताए । क्वारेन्टाइनका लागि समेत कीर्तिपुरपरिसरका त्रिविका कक्षाकोठा प्रयोग गर्न सकिने उनले बताए । त्रिविले देशभरकै आंगिक क्याम्पसहरू आवश्यक परेमा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने भएको छ । 

यसैबीच कीर्तिपुरस्थित त्रिविको बेसिक साइन्स भवनमा आइसोलेसन बेड राख्न सुरु भएको छ । नगरपालिकाका मेयर रमेश महर्जनसहितको टिमले त्रिवि कीर्तिपुरपरिसरको अवलोकन र सरसफाइ गरी बेड राख्न सुरु गरेका हुन् । मेयर महर्जनका अनुसार मंगलबार १० वटा आइसोलेसन बेड राखिएका छन् । उनले भने, ‘बेड राख्न सुरु गरेका छौँ, मेडिकल टिमको सुझाबअनुसार अरू उपकरण जडान गर्छौं ।’ 

कीर्तिपुर नगरपालिकाले विदेशबाट आएका व्यक्तिलाई घरमै क्वारेन्टाइनमा राख्न थालेको छ । हालै विदेशबाट आएका ६ जनालाई घरमै क्वारेन्टाइनमा राखेको र अरूको समेत ट्र्याकिङको काम भइरहेको मेयर महर्जनले बताए । 

केएमसीमा ३२ आइसोलेसन बेड

भक्तपुर दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा ३२ बेडको आइसोलेसन तयार गरिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले तयार भएका आइसोलेसन र अस्पतालको निरीक्षण गरेका छन् । 

‘यहाँ करिब दुई सय बेडको आइसोलेसन बनाउन सकिन्छ, तर पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगायत सुरक्षा उपकरण चाहिने अस्पतालले भनेको छ,’ मेयर मिश्रले भने । मन्त्री भट्टराईले आइसोलेसन बेडको संख्या र क्वारेन्टाइन बेडसँग बढ्ने गरी तयारी गर्न सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिएका छन् ।

नगरकोटका होटेलमा क्वारेन्टाइन 
सरकारले पर्यटकीय गन्तव्य नगरकोटका होटेललाई क्वारेन्टाइन स्थल बनाउने भएको छ । बुधबार बिहानै नगरकोट पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगरकोटका होटेलमा पाँच सय बेडको क्वारेन्टाइन बनाउन आग्रह गरे । ‘आवश्यकता र यहाँको अवस्था हेरेर संख्या बढाउन पनि सकिन्छ, तत्काल पाँच सय बेडको क्वारेन्टाइन बनाऔँं, यसका लागि तपाईंहरूले पनि सहयोग गर्नुपर्‍यो,’ मन्त्री भट्टराईले होटेल व्यवसायीसँग भने । 

नगरकोटमा करिब एक सय पर्यटकस्तरीय होटेल छन् । सबै होटेलमा गरी करिब दुई हजार बेड क्षमता छ । होटेलहरू खुला भए पनि अहिले व्यवसाय ठप्प छ । पर्यटक आएका छैनन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले विपत्का वेला सरकारलाई सहयोग गर्न तयार रहेको बताए । उनले त्यसबारे व्यवसायीसँग आन्तरिक छलफल भने भइनसकेको बताए । मन्त्री भट्टराईको उपस्थितिमा व्यवसायीसँग छलफल गरी क्वारेन्टाइन स्थल बनाउन लाग्ने स्रोत–साधन तयारी गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा सुरक्षा निकाय, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र नगरकोटका पर्यटन व्यवसायी सदस्य रहेको समिति गठन गरिएको छ । सरकारले कोरोना आशंका गरिएकाहरूलाई राख्ने गरी नगरकोटका होटेलमा क्वारेन्टाइन बनाउने तयारी गरेको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । 

लकडाउनमा महानगरले सरसफाइ नरोक्ने

काठमाडौं महानगरपालिकाले लकडाउनभर महानगर क्षेत्रको सरसफाइलाई जोड दिएको छ । फोहोरका कारण कोरोना संक्रमण फैलिने सम्भावना झनै बढी हुने भन्दै महानगरले सरसफाइलाई निरन्तरता दिएको हो । सडकमा निरन्तर ब्रुमरले सफाइ गरिरहेको छ । पानीट्यांकीबाट पानी ढुवानी गरी पानीले समेत सफाइ गर्न थालिएको मेयर विद्यासुन्दर शाक्यले बताए । कोरोना संक्रमण फैलिने त्रास बढेपछि महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य सहायता कक्षसमेत सञ्चालनमा ल्याएको मेयर शाक्यले बताए । ‘नागरिकलाई अत्यावश्यक सेवा दिन महानगर सधैं तयार छ, वडामा हेल्प डेस्क छन्, सबै जनप्रतिनिधिलाई अलर्ट रहन भनेका छौँ,’ उनले भने ।

४५ बेडको आइसोलेसन वार्ड तयार 

कोरोनो भाइरस संक्रमण रोकथाम गर्न ललितपुरमा ४५ बेडको आइसोलेसन वार्ड तयार भएको छ । लगनखेलस्थित पाटन अस्पतालमा ५ बेड र महालक्ष्मीस्थानस्थित गणेशमानसिंह अस्पतालमा ४० बेडको आइसोलेसन वार्ड तयार भएका हुन् । गणेशमानसिंह अस्पतालमा दुई भेन्टिलेटरसहित ५ बेडको आइसियु छ । पाटन अस्पतालमा भने ७ बेडको आइसियु छ । पाटन अस्पतालले केही समयदेखि आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । गणेशमानसिंह अस्पतालको आइसियु पनि आइतबारबाट सञ्चालनमा आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भने, ‘हामीले विभिन्न स्थानमा आइसोलेसन र क्वारेन्टाइन निर्माणका लागि निरीक्षण गरेका छौँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्