कोरोना सङ्क्रमण रोक्न धमाधम क्वारेन्टाइन बनाइँदै



महोत्तरी : काेरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो ।

जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आफूले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताए । यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटलका प्रबन्धक दीपक कार्कीले बताए।

सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरू गरेसँगै बजार, यातायात बन्द गरिएका छन् । जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । जिल्ला प्रशासनले गत शुक्रबार कतार एयरवेजबाट मुलुक फर्केकामध्ये महोत्तरीका ११ मध्ये पाँच सम्पर्कमा आएका जनाएको छ । पाँचै जना परिवारसहित क्वारेन्टाइनमा रहेका छन् । अन्य छ जनाको खोजी भइरहेको छ ।

सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिवास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर (व्यापार प्रयोजनका कोठा) को भाडा यो असर रहुञ्जेल नलिने बताएका छन् ।

बर्दिवास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार, बन्द व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गरेका हुन्। तामाङले आफ्नो १७ सटरबाट मासिक पाँच लाख भाडा लिँदै आएका छन् । यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्