व्यापार संघको पहलः बजारमा आलू प्याजको मूल्यमा एकरुपता ल्याइयो



जनकपुरधाम– कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले देशभरि लकडाउन गरेपछि दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको उपभोक्ताहरूको गुनासो छ ।

खासगरी तरकारीको बिक्री मूल्य बिक्रेताहरुले मनोमानी तरिकाले निर्धारण गरेपछि यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन्।

यी सबै समस्यालाई दृष्टिगत गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले लकडाउनको तेश्रो दिन आज जनकपुरधामस्थित पेठिया बजारमा सञ्चालित आलु प्याजका गोदामहरुमा प्रशासनको टोली सहित पुगेर आलु प्याजको सुपथ मुल्य निर्धारण गराएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले निर्धा्रित मूल्य अनुसार अब होलसेलर बिक्रेताहरुले आलु प्रतिकिलो ३८ र प्याज प्रतिकिलो ४५ रुपैयाँका दरले उपलब्ध गराउने छन् भने आम उपभोक्ताले खुद्रा मूल्यमा आलु प्रतिकिलो ४५ र प्याज प्रतिकिलो ५५ रुपैयाँका दरले कुनैपनि पसलबाट खरिद गर्नसक्ने जानकारी दिएका छन् ।

यसअघि आलु प्याजको मूल्य बिक्रेताहरुले अचानक बढाएर आम उपभोक्ताको ढाड सेकिरहेका थिए । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु लकडाउनमा आलु प्याज चर्को मूल्यमा खरीद गर्न बाध्य बनेका थिए ।

यसैबिच आफ्नो वडाबासीको आग्रह र हालको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(७ का वडाअध्यक्ष जानकीराम साहले आज दिउँसो ३ बजे आलु र प्याज सहजरुपले सुपथ मुल्यमा उपलब्ध गराउन लागेका छन् ।

उनले वडा नम्बर–७ का आम उपभोक्तालाई जानकी नगरस्थित जानकी पतंजलि योग साधना केन्द्रमा समयमै आईदिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्