बैंकिङ कसुर आरोपमा आठजना पक्राउ



काठमाडौं : विकास बैंकका विभिन्न शाखा कार्यालयबाट सवारीकर्जाका नाममा दुई करोड १० लाख आठहजार ९२६ रुपैयाँ नोक्सानी गरेको अभियोगमा बैंकका शाखा प्रबन्धक, मूल्याङ्कनकर्ता र ऋणी गरी आठजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक उमा चतुर्वेदीका अनुसार, सवारी कर्जा लिने प्रयोजनका लागि सुरक्षण स्वरूप बैंकमा धितो वापत राखिएका कागजपत्रहरू नक्कली रहेको तथ्य फेला परेपछि ऋणी तथा योजनाकार नारायणबहादुर श्रेष्ठसहित आठजना पक्राउ परेका  हुन् ।

बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसँगको मिलिमतोमा काभ्रे भुम्लुका श्रेष्ठले यातायात कार्यालयबाट प्राप्त सवारी धनी पत्र (ब्लु बुक) मा गलत विवरण तथा नक्कली सहिछाप गरी ११ जनाको नामबाट दुई करोड रुपियाँभन्दा बढी कर्जा स्वीकृत गराइएको जानकारी ब्यूरो प्रहरीले दिएको हो ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा सरकारी छाप दस्तखत किर्ते अपराधमा संलग्न रहेको अभियोगमा ब्यूरो प्रहरीले मूल्याङ्कनकर्ता वीरगंज घरभई हाल ललितपुर महानगरपालिकाको ज्वागल बस्ने नेरशमान सिंह अमात्य, ऋणीहरू काभ्रे भुम्लुका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ र कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौं, ललितपुर, काभ्रे र मोरङ लगायतका स्थानबाट पक्राउ गरी थप कानुनी कारवाहीका लागि सरकारी वकिलको कार्यालय बबरमहलको स्वीकृतिले आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी ब्यूरो प्रहरीका प्रहरी उपरीक्षक चतुर्वेदीले दिए ।

यसैबीच, बैदेशिक रोजगार ठगी मुद्दामा नौ लाख ८७ हजार चारसय ६६ रुपैयाँ जरिवाना र छ महिना जेल सजाय फैसला बेरुजु राखी फरार भएको भन्दै धरान घरभई हाल ललितपुर बस्दै आएका ६८ वर्षीय हेमबहादुर घलेलाई ब्यूरो प्रहरीले जावलाखेलबाट पक्रेको छ ।

राजन डंगोल लगायतका केही युवालाई बैदेशिक रोजगारको सिलसिलामा अष्ट्रेलियामा मासिक एकहजार आठसय अमेरिकी डलर तलब सुविधा प्राप्त हुने गरी पानी जहाजमा जागिर लगाइदिने प्रलोभन देखाइ २९ लाख ६२ हजार रुपैयाँ उठाइ घले फरार भएका थिए ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको ठगी मुद्दामा २०७४ साल भदौमा छ महिना जेल र नौलाख ८७ हजार ४६६ रुपैयाँ जरिवाना सुनाइएको थियो । घलेलाई मंगलवार डिल्लीबजार कारागारमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्