तीन घण्टामै कोरोना पत्ता लगाउने किट्स कोरियाबाट नेपाल पठाइँदै



सिओल : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले नेपाल सरकारलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स सहयोग गर्ने भएको छ ।

एनआरएन कोरियाले योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको र तत्काल नेपाल सरकारलाई सहयोग गर्ने भएको हो ।

सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ । प्रति किट्स २० हजार कोरियाली वन (दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि ४० लाख लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

एनआरएन कोरियाका अध्यक्ष सुवेदीले यतिबेला मातृभूमि नेपालले कोरोनाका कारण झेल्नु परेको परिस्थितमा सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरुमा अनुरोध गरिएको छ ।

उक्त किट्स कोभिड–१९ को संक्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ ।

किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

अध्यक्ष सुवेदीका अनुसार आज (बिहीबार) दिनभर सहयोग संकलन गर्ने र भोलि (शुक्रबार) कार्गोमार्फत उक्त किट्स चीन पठाइने छ । चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएको उनले बताए ।

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्