सामुदायिक वनको भवनमा क्वारेन्टाइन



कास्की : विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

सरकारले देशैभरि कोरोनाको संक्रमण रोक्नका लागि शुरु गरेको लकडाउनसँगै गाउँपालिकाले वडा नं.५ स्थित देउरालीस्थित ठूलोवन सामुदायिक वन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन संचालनमा ल्याएको हो ।

विशेषत : विदेशबाट गाउँ आउने व्यक्तिबाट भाइरसको उच्च जोखिम रहेको भन्दै हालै विदेशबाट आएका व्यक्तिलाई १५ दिनसम्म निगरानीमा राख्ने लक्ष्य साथ क्वारेन्टाइन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार करिब दुई सय बेड क्षमता रहेको उक्त क्वारेन्टाइनमा हाल २२ व्यक्ति रहेका छन् । शहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि गाउँमा त्यसको खासै अनुभूति गर्न नसकिएको वास्तविकतामा विदेशबाट हालै आएर गाउँ प्रवेश गर्ने जोकोही व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ३४२ सामुदायिक वन उपभोक्ता समूहका भवन रहेको र आवश्यकता अनुसार सरकारले प्रयोग गर्न सक्ने सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्