लुक्लामा फसेका पर्यटकको खाने, बस्ने खर्च ‘वडाले बेहोर्ने’



काठमाडौं : कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै देशभरि लकडाउन गरिएपछि सगरमाथा क्षेत्रमा एक सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।

लकडाउनको तेस्रो दिन बिहीवार लुक्ला क्षेत्र रहेको पासाङ लामु गाउँपालिका वडा नं २ ले एउटा विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभरि सबै पर्यटकको खाने तथा बस्ने खर्च आफूले नै बेहोर्ने जनाएको छ।

पदयात्राको क्रममा सगरमाथा आधारशिविर, गोकियो, कालापत्थर, मेरापिक लगायतका क्षेत्रमा पुगेका विदेशी पर्यटकहरू लकडाउनमा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कोरोनाभाइरससका कारण सरकारले पर्वतारोहणका सम्पूर्ण गतिविधि स्थगित गरेको भए पनि पदयात्रामा रमाउने पर्यटकहरू सगरमाथा क्षेत्रमा गएका थिए।

तयारी

उनीहरू भ्रमण सकेर फर्कने तयारीमा रहेको र केही पर्यटकहरू बीच बाटोमा नै लकडाउनमा परेको सोलुखुम्बुका प्रहरी प्रमुख टेकुनन्द इवालिम्बुले बताए ।

उनी भन्छन्, “लुक्ला आएर होटेलहरूमा बसिरहेका छन्। उनीहरू सुरक्षित छन् र कतै पनि विपत्‌को अवस्थामा छैनन्।” इलाका प्रहरी कार्यालय लुक्ला र गाउँपालिकाले बाटोमा फसेकाहरूको विवरणबाहेक १२५ जना पर्यटक लुक्लामा लकडाउनमा फसेको तथ्याङ्क सङ्कलन गरेको छ।

उनीहरू अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, चीनका रहेका छन् । लकडाउनमा फसेकामध्ये एक आईटेक नेपालका पथप्रदर्शक सोनाम शेर्पा भन्छन्, “कति मान्छे चाहिने मात्र खर्च बोकेर आएका हुन्छन्। लकडाउन भन्ने बित्तिकै काठमाण्डूबाट विमान आएन। समस्या त्यही हो।”

प्रहरीका अनुसार पदयात्राको क्रममा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गरिएको छ।

सहयोग

तर अवस्था सामान्य रहेकाहरू भने सरकारले तोकेको लकडाउन अवधिभरि यथास्थानमा नै बस्नुपर्ने प्रहरी प्रमुख इवालिम्बुले बताए।

लकडाउनमा परेका विदेशी पर्यटकहरूको उद्धारका लागि खुम्बु पासाङ लाह्मु गाउँपालिकाले पर्यटन विभाग र गृह मन्त्रालयलाई जानकारी गराइसकेको र सुरक्षित गाँस तथा वासका लागि होटलहरूलाई आग्रह गरिएको गाउँपालिकाकी उपाध्यक्ष टासील्हामु शेर्पाले बतइन्।

उनी भन्छिन्, “होटलहरूले सेवाको भावनाले के के गर्न सकिन्छ सकेसम्म गरिदिन होटलहरूलाई अध्यक्षजीले अनुरोध गर्नुभएको छ। सबैबाट उहाँहरूलाई सहयोग मिल्छ।”

पर्यटकको सुरक्षामा लागि भन्दै गाउँपालिकाले प्रतिव्यक्ति दुई हजारका दरले पर्यटक प्रवेश शुल्क लिँदै आएको छ।

लकडाउनमा परेका पर्यटकका लागि सो कोष बापतको रकम प्रयोग गरी उनीहरूको व्यवस्थापन गर्नुपर्ने कतिपयको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्