चैत मसान्तसम्मको साँवा र व्याज तिर्नु नपर्ने, सरकारको निर्देशन



काठमाडौं : अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबारको बैठकले चैत मसान्तसम्मको बैंकिङ कर्जा र व्याज असुली स्थगन गर्न निर्देशन दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि यस्तो व्यबस्था गरिएको हो । बैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको भाका सर्ने भएको हो । साथै साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने भएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गिकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमणरहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्