भाडामा एम्बुलेन्स लिएर सेवा दिँदै गाउँपालिका



लमजुङ : लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। कोराना भाइरस संक्रमण भएका, आशंका भएका र कुनै बिरामीलाई परीक्षणका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका भित्रको कुनै पनि नागरिकमा संक्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि दुई एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

‘गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि विभिन्न ठाउँबाट भाडामा लिएर संक्रमणको अवधिभर गाउँपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको हो,’ उनले भने।

गाउँपालिकाले वडा नं.१ देखि ४ वडावासीका लागि ग२च ७३९२ नम्बरको एम्बुलेन्स र वडा नं. ५ देखि ९ नम्बर वडावासीका लागि ग१झ ४४८ नम्बरको एम्बुलेन्स गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए।

शाखा प्रमुख गुरुङका अनुसार अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने मानिसलाई फर्काइएका छ। गाउँपालिकाको दुई स्थानमा स्वास्थ्य सहायत कक्ष समेत राखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्