कोरोना संक्रमित युवतीसँग नेपाल आउने हेटौंडाका एक युवती र एक युवक होम क्वारेन्टाइनमा



हेटौँडा : यही चैत ६ गते एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो ।

सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका बस्ने ३२ वर्षीया युवती वैदेशिक रोजगारमा साइप्रसबाट कतार हुँदै नेपाल फर्किएपछि काठमाडौँ, चन्द्रागिरिमा आफ्नै दाजुका घरमा बसेकी छन् । उनी बुधबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य स्थिति सामान्य रहेकाले होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ४९ वर्षीयलाई वैदेशिक रोजगारीका लागि कतारमा हुँदै कतार प्रहरीले समातेर नेपाल फिर्ता पठाएपछि हेटौँडा घर आई बसेको र प्रहरीले सम्पर्क गरी आज बिहान हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य सामान्य रहेकाले उनी पनि होम क्वारेन्टाइनमा रहेको बताइएको छ । प्रहरीले निजलाई निगरानीमा राखेको र स्वास्थ्यमा खराबी आए तुरुन्तै उपचारका लागि हेटौँडामा तयारीमा राखिएको कोरोना भाइरस उपचार केन्द्रमा ल्याइने जानकारी दिइएको छ ।

यसैबीच आज लकडाउनको तेस्रो दिन हेटौँडामा मानिसलाई घरमै बस्न र सरकारको निर्देशन पालना गर्न प्रहरीले र हेटौँडा उपमहानगरपालिकाले माइकिङ गरिरहेका छन् । प्रहरीले नगरका ठाउँठाउँमा खटेर लकडाउन पालना गराउन कडाइ गरिरहेको छ ।

यसैगरी कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्ने उद्देश्यले हेटौँडा–४ श्रमिक माविको भवन र हेटौँडा –११ स्थित हेटौँडा एकेडेमीको भवनमा क्वारेन्टाइन बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

क्वारेन्टाइन स्थापनाका लागि पर्याप्त सामग्री उपलब्ध नभए पनि सङ्घीय सरकारले उपलब्ध गराएको सामग्री अहिले दुई क्वारेन्टाइन सञ्चालनका लागि वितरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए ।

यसैगरी बाँकी तीन क्वारेन्टाइन सञ्चालनका लागि पनि तीन दिनभित्रै सामान खरीद गरी ल्याउन आवश्यक टोली पठाइसकिएको पनि उनले जानकारी दिए । यसैगरी कोरोना भाइरसको शङ्कास्पद बिरामीको रगत र स्वाब परीक्षण गर्न मकवानपुरका १० स्थानीय तहमा स्वास्थ्य जनशक्ति परिचालन गर्न पनि उपमहानगरपालिका, हेटौँडा अस्पताल र जिल्ला समन्वय समितिमार्फत तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्