घोडाघोडीमा आइसोलेसन वार्ड तयार गर्ने, यस्ता छन् निर्णय




कैलाली : कोरोना संक्रमणमा परेकाहरुको रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले आइतबार साझदेखि संचालन हुने गरी आइसोलेसन वार्ड तयार गर्ने भएको छ ।

घोडाघोडी नगरपालिकाको कार्यालयमा नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिकाको बैठकले आइतबार साझबाटै संचालनमा ल्याउने गरि १३ बेडको आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कार्यपालिका तथा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पुरानो भिजन हस्पिटलको खाली रहेको भवनमा १३ बेडको आइसोलेसन वार्ड संचालन गर्न लागेको हो ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि बसेको आकस्मिक बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि घोडाघोडी अस्पतालसंग समन्वय गरि जनचेतनामूलक सन्देश प्रचार प्रसार गर्ने, कोरोना भाइरस बाट सुरक्षित रहन साबुन पानीले हात धुने तथा स्वयं सरसफाइमा सचेत रहनको लागि नगरपालिकाले आवत जावत हुने विभिन्न ठाउँमा हात धुने ठाउँ निर्माण गर्ने, भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि नगर प्रमुखको संयोजकत्वमा समन्वय समिती गठन लगायतका निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

आईसोलेसनको लागि प्राविधिक एवं अन्य परामर्शका लागि घोडाघोडी अस्पताल तथा नगरका स्वास्थ्य कर्मचारीहरु परिचालन गरिने नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।
हाल छनौट गरिएको स्थान उपयुक्त एवं पर्याप्त भएको हुँदा एकै स्थानबाट आईसोलेसन वार्ड तथा क्वारेन्टाईन समेत सञ्चालन गर्ने गरि व्यवस्थापनको तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्