लकडाउन नेपाल : दाना नपाएपछि जनकपुरमा एक व्यवसायीले गरे लाखौंको कुखुरा नष्ट



जनकपुरधाम : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण लकडाउन गरिएको अबस्थामा दाना नपाएर जनकपुरमा एक कुखुरा व्यवसायीले लाखौंको कुखुरा नष्ट गरेका छन् ।

दानाको अभावले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा सञ्चालित साह कृषि तथा पशुपंछी फर्मका सञ्चालक मनोज साहले करिव १७ लाखको कुखुरा र चल्लाहरु दाना अभाव भएका कारण आज (बिहीबार) नष्ट गरेका छन् ।

मनोजले भने,‘पुरा विश्व अहिले कोरोनाको त्रासका कारण आक्रान्त छ । यसको असर नेपालमा समेत परेको छ । हामीलाई कुखुरालाई खुवाउनका लागि दाना उपलब्ध भइरहेको छैन । भोलीको दिनमा यसभन्दा पनि बढि भयावह स्थिती आउन सक्छ । त्यसैले अहिले त मलाई १७ लाखको क्षति हुन्छ तर यी कुखुराहरुलाई अझै केही दिन राखें भने क्षति झन बढछ् । यी र यस्ता अन्य धेरै समस्याहरुलाई मध्यनजर गर्दै आफ्नो छातीमा ईंटा राखेर १२ हजार ६ सय कुखुरा र चल्लाहरु आज नष्ट गरेको छु ।’ यसले आफ्नो व्यवसायमा करिव १७ लाखको क्षति पुग्ने मनोजको दुःखेसो छ ।

सञ्चालक साहले भने,‘मैले आफ्नो फर्मबाट काठमाडौंसम्म कुखुराहरु सप्लाई गर्ने गरेको छु, तर व्यापारीले बैंक बन्द रहेको अबस्थामा रकम नपठाई दिदाँ कुखुरा र चल्लालाई दाना खरिदका लागि रकम नरहेकोले दुःखद अवस्थामा नष्ट गर्नु परेको छ । दाना सप्लायर्सले उधारो दाना दिन नमान्दा आफुले बाध्यतावश नष्ट गर्ने निर्णय लिनुपरेको सञ्चालक साहले बताए ।

कोरोनाका कारण दाना उत्पादन र आयात बन्द हुँदा धनुषाका हजारौं कुखुरापालक किसानका करिब अर्बौं बढी लगानी डुब्ने अबस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्