धनुषामा कालोबजारी गर्ने ११ र लकडाउन उल्लंघन गर्ने ५३ जना पक्राउ



जनकपुरधाम– विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण सबैजना आक्रान्त रहेको समयमा जनकपुरमा भने केही व्यापारीहरु व्यक्तिगत मुनाफा कमाउने तर्फ व्यस्त देखिएका छन् । उनीहरु लकडाउनको मौकाछोपी कालोबजारी गरिरहेको देखिएको छ । यसै क्रममा अत्यावश्यक खाद्यान्न सामग्रीको कालोबजारी गर्ने ११ व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

खाना पकाउने एलपीजी ग्यास, आलु, प्याज र मोबाईलको रिचार्ज कार्डमा कालोबजारी गर्ने ११ जना व्यापारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको बजार अनुगमन टोलीले आज (बिहीबार) पक्राउ गरेको हो ।

आलु र प्याजको कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५२ बर्षिय राम अनुठ ठाकुर, वडा नम्बर–१२ बस्ने ३५ बर्षिय जित साह,वडा नम्बर–४ का ५० बर्षिय विनोद कुमार साह, ४८ बर्षिय कुशेश्वर चौधरी, वडा नम्बर–७ का २८ बर्षिय अजय साह, २४ बर्षिय प्रविन साह,वडा नम्बर–४ का ४३ बर्षिय राज किशोर यादव, वडा नम्बर–१ का ३१ बर्षिय गुलजार शेख र ३१ बर्षिय प्रमोद साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेहरुमा सबैभन्दा बढी आलु र प्याजको व्यवसायी छन् । उनीहरूले आलु प्रतिकिलो ६० र प्याज प्रतिकिलो ८० रुपैयाँमा बेचिरहेका थिए ।

त्यस्तै ग्यासको कालाबजारी गरेको आरोपमा जनकपुरधाम–४ का १९ बर्षिय कुन्दन कुमार साह र रिचार्ज कार्ड कालाबजारी गरेको आरोपमा जनकपुरधाम–४ बस्ने २६ बर्षिय बिकाश कुमार महतोलाई समेत पक्राउ गरिएको हो ।

लकडाउनको उल्लंघन गरेको आरोपमा संक्रामक रोग निवारण ऐन अन्तर्गत ५३ जनालाई धनुषाको बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको छ । पक्राउ परेकाहरुसँग प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना तिराएर छोडिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए । उनीहरुलाई यसपछि लकडाउनको उल्लंघन नगर्न निर्देशन समेत दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्