‘लकडाउन’ अवधिभर एनआइसी एशियाको सहायता केन्द्र



काठमाडौं : एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ ।

टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताए । कोरोनाभाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै ‘लकडाउन’ गरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

बैंकले प्रदेश कार्यालयका साथै प्रदेश नं ५ का छ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दीपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

ग्राहक सहायता केन्द्रअन्तर्गत नेपालगञ्ज एसपिओ कार्यालयका लागि माधव बेल्बासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दीपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताए।

लक डाउनको समयमा ग्राहकलाई पैसाको आवश्यकता परे प्रदेश नं ५ अन्तर्गत खुला रहेका ६७ एटीएमबाट सेवा लिनसक्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । एनआइसी एशियाले बुटवलमा १४, भैरहवामा पाँच र तिलोत्तमामा आठ एटीएम सेवा प्रदान गरेको छ ।

त्यस्तै शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले लकडाउनका अवधिमा पनि ग्राहक बैंकिङ सेवाबाट वञ्चित हुन नपरोस् भनेर बुटवलको ट्राफिकचोक, योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ः०० बजेसम्मका लागि खुला गरेको छ । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकताअनुसार सम्बन्धित जिल्लामा रहेका शाखाबाट सेवा प्रदान गरेको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्