सरकारले बुझाउन नसकेको ‘लकडाउन’, र ‘अटेरी’ नेपाली जनता



काठमाडौं : कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल एक साता लामो लकडाउनमा छ । आज (बिहीबार) लकडाउनको तेस्रो दिन हो । लकडाउनको अवधिमा अति आवश्यक परिस्थिति बाहेक घरबाट बाहिर निस्कन पाइदैन् । सवारी साधनहरूको हकमा पनि त्यही लागू भएको छ ।

दिनको समयमा लकडाउनको पूर्ण पालना भइरहेको भए पनि साँझपख सर्वसाधारणहरू सडकमा देखिए । तीनकुने, पुरानो बानेश्वर, नयाँ बानेश्वर, डिल्लीबजार, अनामनगर र बबरमहलमा सर्वसाधारण चहलपहल थियो भने निजी सवारीसाधनहरू पनि गुडिरहेका थिए ।

तीनकुनेमा मानिसहरूको बाक्लै भिड थियो । केही मानिसहरूको हातमा सामानहरू रहेको भएपनि प्रायः मानिसहरू यतिकै हिँडिरहेका थिए । कोही कसैको पर्खाइमा थिए भने केही बेञ्चमा विश्राम गरिरहेका थिए ।

यो दृश्यले धेरै मानिसहरूमा ‘मिसकनसेप्सन’ रहेको प्रष्ट देखियो । सर्वसाधारणरूले लकडाउनलाई बन्द अथवा केही घण्टाको कर्फ्यूको रुपमा बुजेको पाइएको छ । केही मानिसहरूमा ५ बजेपछि हिँड्न पाइने भन्ने गलत समाचार र सूचनाले गर्दा पनि लकडाउन प्रभाव विहिन बन्दै गएको हो । तर, सरकारले यति घण्टामा निस्कन पाइने वा नपाइने भनेर कुनै पनि समय तोकेको भने छैन ।

आखिर के हो त लकडाउन?
‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्णरूपले बन्द रहन्छन् । अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् ।

सरकारले अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन । सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन् । यद्यपी लकडाउन अवधिमा अतिआवश्यक सामाग्रि आयत र निर्यात भने नरोकिन सरकारले बताएको छ ।

तर, लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल निश्चित समयसम्म खुला रहनेछन् । यस्तै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ ।

नेपालमा पहिले पटक लकडाउन गरिएकाले पनि सर्वसाधारणको बुझाईमा केही कमि भएको हो भने सरकारले पनि राम्रोसँग लकडाउनको अर्थ बुझाउन सकिरहेको छैन ।

तर, सरकरले दिएको निर्देशन नागरिकहरूले पालना गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । लकडाउन भिन्न खालको विपत भएको र आफूहरूको लागि पनि नयाँ रहेको उनले बताउँदै उनले भने– ‘सर्वसाधारणले हामीलाई सहयोग गरिरहनुभएको छ ।’ तर साँझको समयमा भने बाहिर निस्कदा लकडाउन पूर्ण नभएको उनी स्वीकार छन् । उनले भने– ‘लकडाउनमा मानिसको धारणा फरकफरक भएको छ ।’ केही रमाइलोको लागि पनि बाहिर निसक्ने गरेको उनले बताए ।

अर्को सर्वसाधारणहरूले लकडउनलाई बन्दकै रुपमा लिएको पनि उनले बताए । उनले भने – ‘कतिजनाले त मलाई नै फोन गरेर कति बजेबाट निस्कन पाइन्छ भनेर पनि सोध्नु भएको छ ।’ तर उनले सबै जनालाई आफै सर्तक रहन आग्रह गरे । उनले अति आवश्यक र खाद्यानको समान खरिदको लागि पनि समय मिलाएर भिड नहुने गरि बाहिर आउनको लागि पनि अनुरोध गरे । ‘संक्रमण हो दिनमा हुने राति नहुनेभन्ने त हुँदैन नि ! राति त्यस्तो कुने शक्तिले रोक्छ र नआउनको लागि–’ उनले भने ।

कोरोना अज्ञात भाइरस भएकाले सबै जनाले यसको खतरा महशुस गर्नुपर्ने उनले बताए। सबैलाई जोगाउनको लागि पूर्णरुपमा लकडाउन हुन पनि उनले सुझाव दिए ।

सायद, विश्वको यो नै पहिलो यस्तो लडाईँ होला जो चुपचाप बसेर लड्नुपर्ने भएको छ । तर, नगरिकले घरभित्र बसेर सहयोग गरेका बेला सरकारको जिम्मेबारी भने थपिएको छ । यो विषय सरकारलाई सहयोग गर्ने वा नगर्ने हैन । विषय त, मानव सभ्यता जोगाउने कि नजोगाउने भन्ने हो ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण अहिले विश्वको करिब २ सय देशमा फैलिसकेको छ । यसको प्रभाव नेपालमा पनि देखिएको छ भने अहिलेसम्म नेपालमा ३ जना कोरोना संक्रमित फेला परिसकेको छ । यसलाई थप फैलिन नदिन सरकारले मगंलबारदेखि चैत १८ गतेसम्म देशै ‘लकडाउन’ गरेको छ । तर, नेपाली जनतालाई भने यो कुनै रमाइलो चाडपर्व जस्तै भएको छ । विश्वका मानिसहरु कोरोनाको त्रास र सन्त्रासमा जीवन विताइरहेका छन् भने नेपाली जनतालाई यसको कुनै त्रास भएको देखिँदैन ।

सरकारले कोरोना संक्रमण रोक्न यो गरेन त्यो गरेन भनेर विरोध गरिरहने नेपाली जनता आफै सरकारले यो संक्रमण राक्न लागू गरेको लकडाउन उल्ल्रंघ गर्दै सडकमा हिँडिरहेका छन् । यसरी नै कोरोना त्रास र सन्त्रास छैन भने सरकारलाई दोष किन दिनु ? यदि नेपाललाई कोरोना संक्रमणबाट मुक्त गर्नुछ भने सरकारले लागू गरेको निर्णयलाई आत्मसाथ गर्दै केही समय घर भित्र बसौं र सरकार, नेपाल प्रहरी, नेपाल आर्मीलाई साथ दिऔँ ।

प्रतिक्रिया दिनुहोस्