गौरमा ३ फिट दूरीको फरकमा किनमेल गर्नुपर्ने



गौर : कोरोना भाइरस (कोभिड– १९)को संक्रमणबाट बच्न रौतहटको गौरमा दैनिक उपभोग्य वस्तु किनमेल गर्न निश्चित दूरी कायम गरिएको छ ।

लकडाउनको समयमा तरकारी, खाद्यान्न, औषधि, दैनिक उपभोग्य वस्तु किनमेल गर्नुपर्ने बाध्यता आएपछि गौर नगरपालिकाले विक्रेता र क्रेताबीच तीन फिट दूरी कायम गरेको हो ।

गौर नगरपालिकाले व्यवस्थित रूपमा तरकारीको हाटबजार सञ्चालनमा ल्याएसँगै तीन फिटको दूरीमा रहेर मात्र किनबेच गर्न सकिने व्यवस्था गरेको हो ।

‘दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानीयको स्वास्थ्य दुवैलाई ख्याल गर्दै निश्चित दूरी कायम गरिएको हो,’ गौर नगरपालिकाका मेयर अजय गुप्ताले भने, ‘तरकारी बजारभित्र प्रवेश गर्नेलाई मास्क अनिवार्य गरिएको छ । तरकारी विक्रेता र क्रेताबीच दूरी राखिएको छ ।’

कोरोना भाइरस सतर्कताका लागि सशस्त्र प्रहरी बलले पनि सघाएको गुप्ताले बताए । उनका अनुसार खरिदकर्ताबीच पनि दूरी कायम गर्न तीन फिटको अन्तर हुने गरी वर्गाकार घेरा बनाइएको छ । र, त्यही लाइनमा बसेर खरिद गर्नुपर्नेछ । यसरी तरकारी खरिद गर्दा सहज भएको स्थानीयको भनाइ छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्