कुखुराको दाना : तीन महिनामा तीनै पटक भाउ बढ्यो



चितवन : कुखुराको दाना उत्पादकले दानाको भाउ बढाएका छन् । दाना उद्योगीले भेला नै गरेर दानाको मूल्य बढाएका हुन् । दाना उत्पादक संघको भेलाले आइतबारदेखि लागू हुनेगरी प्रतिबोरा एक सय ५० रुपैयाँ बढाउने निर्णय गरेको छ । 

संघका अध्यक्ष रवीन पुरीका अनुसार पछिल्लो तीन महिनामा तीनै पटक गरी दानाको मूल्य प्रतिबोरा ३ सय ५० रुपैयाँले वृद्धि भएको छ । दानाको मूल्य मंसिरमा ७५, पुसमा १ सय २५ र माघमा प्रतिबोरा १ सय ५० रुपैयाँ बढाइएको छ । पछिल्लो मूल्यवृद्धिसँगै दानाको भाउ प्रतिबोरा तीन हजार १ सय २५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबैभन्दा बढी मूल्य हो ।

दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य बढेकाले दानाको मूल्य पनि बढाउनुपरेको संघले जनाएको छ । पछिल्लो पटक मकैको मूल्य प्रतिकेजी १४ र भटमासको १० रुपैयाँ बढेको छ ।

 

दाना बनाउन प्रयोग गरिने अधिकांश कच्चा पदार्थ भारतबाट आयात गरिन्छ । संघका अनुसार वार्षिक २५ अर्ब रुपैयाँ बराबरको मकै, भटमास आयात हुने गरेको छ । मुलुकमा सानाठूला गरी १ सय २० वटा दाना उद्योग छन् । देशभर दैनिक दुई हजार ७ सय मेट्रिकटन दाना खपत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्