सहिदको योगदान स्मरणीय : मुख्यमन्त्री 



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिदको योगदान सधैं स्मरणीय र अतुलनीय रहने बताएका छन् । 

सहिद दिवसका अवसरमा बुधबार शुभकामना सन्देश प्रकाशित गर्दै राईले निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनार्थ एवं स्वतन्त्रताको पक्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदको योगदानको सधैं मूल्यांकन हुने उल्लेख गरेका छन् ।

 

सन्देशमा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सबै ज्ञातअज्ञात सहिदको सम्झना पनि गरिएको छ । ‘नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी छ,’ मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, ‘आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’ 

उनले सन्देशमा नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन सहिदको त्याग र बलिदानको परिणाम भएको उल्लेख गरेका छन् । बलिदानीबाट प्राप्त उपलब्धि संस्थागत गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सक्नुपर्ने उनले स्पष्ट पारेका छन् । आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित भएमा मात्र सहिदप्रति सच्चा सम्मान हुने विश्वास राईको छ ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधान कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन सहिदको सपना तथा योगदान सधै प्रेरणादायी हुने शुभकामना सन्देशमा उल्लेख छ । देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउँदै सहिदको सपना साकार पार्न एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गरेका छन् । 

पछिल्लो चरणमा भएको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै सहिदका सपना पूरा हुँदै गएको र बाँकी अधुरा सपना पूरा गर्ने दिशामा अगाडि बढिरहेको मुख्यमन्त्री राईले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्