राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान जानु आवश्यक: नेता मण्डल



जनकपुरधाम– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताएका छन् ।

व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । नेता मण्डलले अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको जिकिर गरेका छन् ।

द नेपालटपसँगको कुराकानीमा नेता मण्डलले राहतकोषको रकमको व्यवस्थापन प्रमुख कुरा रहेको बताए ।

उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो । तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’

डाक्टर र नर्सहरुलाई समेत आवश्यक उपकरण उपलब्ध नहुँदा पनि डराएका उनको भनाई छ । यस्तो अबस्थामा राहत भन्दा बढि अस्पतालहरुमा आइसोलेशन वार्ड,डाक्टरका लागि ड्रेस,संक्रमितहरुको स्वास्थ्य जाँचका लागि किट लगायतका सामग्रीहरुको व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता उनले बताए ।

उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए ।

नेता मण्डलले कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाएका छन् । विश्वभर फैलिँदै गएको कोरोना संक्रमणसम्बन्धमा पटकपटक जानकारी गराउन सदनमा माग गरेपनि सरकारले कुनै जबाफ नदिएको मण्डलले बताए ।

अहिलेसम्म प्रदेश २ मा नेपाली काँग्रेसका १९ र नेकपाका ३२ जना प्रदेशसभा सदस्यहरुले संसदिय दलको बैठकको निर्णय अनुसार आ–आफ्नो १० दिनको तलव बराबरको रकम राहतकोषमा जम्मा गर्ने निर्णय यसअघिनै गरिरसकेको छ ।

प्रतिक्रिया दिनुहोस्