मुख्यमन्त्रीबाट कोभिड–१९ रोकथामको प्रयासबारे समितिलाई जानकारी



काठमाडौं : नोभलकोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिलाई कोरोना नियन्त्रणका लागि चालिएका कदम र भावी कार्ययोजनाबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुले जानकारी गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकमा संयोजक पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका थिए । प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, वर्तमान अवस्था र अब गर्नुपर्ने तयारीबारे समितिलाई जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

मुख्यमन्त्रीहरुले क्वारेन्टाइन केन्द्रको स्थापना, यात्रुको स्वास्थ्य परीक्षण, आइसोलेटेड बेडको निर्माण र दैनिक जनजीवनमा परेको प्रभावलाई न्यूनीकरण गर्न चालिएका कदम र राहतका विषयवस्तु प्रस्तुत गर्नुभएको पनि उनले जानकारी र्दिए ।

स्वास्थ्य सामग्री र उपकरण अभावसम्बन्धी जानकारी गराउँदै मुख्यमन्त्रीहरुले अब ठूलो वित्तीय दायित्व आउनसक्ने भएकाले केन्द्रले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए । प्रदेशगतस्तरमा खडा गरिएको राहत कोषको अवस्थाबारे पनि समन्वय समितिलाई जानकारी गराइएको थियो । उक्त कोष स्थानीय तहसम्म परिचालन गर्न भइरहेको प्रयास जानकारी गराइयो ।

समन्वय समितिले क्वारेन्टाइन केन्द्र सञ्चालनसम्बन्धी स्वीकृत मापदण्ड प्रदेश सरकारलाई पठाइएको हुँदा त्यसैअनुसार काम गर्नु समितिले प्रदेश सरकारलाई सुझाव दिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्