सङ्क्रमण रोक्न स्थानीय तहको सक्रियता



नवलपरासीपूर्व नवलपुरका स्थानीय तह कोरोना भाइरसको सङ्क्रमण रोक्न लागिपरेका छन् । नवलपुरमा रहेका आठ वटै स्थानीय तहले लकडाउनको पालन गर्नका लागि आह्वान गर्नेदेखि क्वारेनटाइन निर्माणको कामलाई प्राथमिकता दिएका छन् ।

योसँगै स्थानीय तहले प्रचारप्रसारलाई पनि जोड दिएका छन् । कोरोनाबाट जोगिन अपनाउनुपर्ने सन्देशहरु प्रवाह गर्ने कामलाई स्थानीय तहले गरिरहेका छन् । जिल्लाका स्थानीय तहले वडावडासम्म पत्राचार गरी भारत तथा अन्य बाहिरी देशबाट भर्खरै आएकाको पहिचान गर्ने, परामर्श गरी क्वारेन्टाइनमा राख्ने काममा समेत जोड दिएका छन् ।

यी तहले हालसम्ममा ६१४ श्ययाको क्वारेनटाइन निर्माण गरेका छन् । नवलपुरको गैँडाकोट नगरपालिकाले २८ श्ययाको क्वारेनटाइन निर्माण गरेका छन् । देवचुली नगरपालिकाले ४०० श्ययाको क्वारेनटाइन निर्माण गरेको छ भने कावासोती नगरपालिकाले ५०, मध्यविन्दु नगरपालिकाले ११९ श्ययाको क्वारेनटाइन निर्माण गरेको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले १२ र हुप्सेकोट गाउँपालिकाले पाँच श्ययाको क्वारेनटाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने पूर्वतयारीस्वरुप सबै स्थानीय तहमा सूरक्षा सतर्कताका लागि क्वारेन्टाइन निर्माणको काम चलिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

कोरोनासँग सम्बन्धित सबै तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरिएको र सोही आधारमा थप योजना निर्माण गर्दै जाने उनले बताए।

विदेशबाट आउनेको लगत सङ्कलन र उनीहरूलाई क्वारेन्टाइनमा राख्ने कामलाई जोड दिइएकोे गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए। वडावडामा जनप्रतिनिधिको पहलमा भारत तथा विदेशबाट चैत १ देखि यता आएका व्यक्तिको पहिचान गर्ने उनीहरुलाई क्वारेन्टाइनमा राख्ने कार्य गर्न लागिएको प्रमुख पौडेलले बताए।

कावासोती नगरपालिकाले समेत नगरका १७ वडाबाट हालसम्म विदेशबाट आएका ३५६ जनाको पहिचान गरेको छ । जसमध्ये तीन जना वडामा निर्माण गरेको क्वारेन्टाइनमा छन् । बाँकी सबै ३५३ जनालाई होम क्वारेन्टाइनमा बस्न भनेको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले बताए।

स्थानीय तहहरुले स्थापना गरेका जिल्लाभरिका क्वारेन्टाइनमा हाल ५३ जना रहेका छन् । ती सबै विदेशबाट आएका व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति डिल्लीराम तिवारीले बताए।

प्रतिक्रिया दिनुहोस्