चौथो कोरोना संक्रमित युवकले भने–‘अस्पतालले केयर गरेनन्’



धनगढी : हिजो (शुक्रबार) नेपालमा फेला परेको चौथो कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ३४ वर्षीय युवाले अस्पतालले केयर नगरेको गुनासो गरेका छन् ।

यही चैत ६ गते एअरलाईन्सको कनेक्टिङ फ्लाईट ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका उनी ७ गते काठमाडौं आइपुगेका थिए ।

काठमाडौंबाट धनगढीको बसको टिकट नपाएपछि उनले बुद्ध एयरको विमान चढेर नेपालगञ्ज पुगेका थिए । त्यहाँबाट उनी माईक्रोबस चढेर धनगढी पुगेका थिए ।

धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका चार दिनपछि स्वास्थ्य मन्त्रालयले हिजो शुक्रबार पत्रकार सम्मेलन गरि उनी कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । हाल उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तर, उनले अस्पतालले आफूलाई केयर नगरेको गुनासो गरेका छन् ।

‘अस्पतालमा म एउटा कोठाम थुनिएजस्तो भएको छु । मलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि मेरो परिवारका अन्य ८ जना सदस्यहरु जाँचका लागि अस्पताल आउनुभएको छ ।’ उनले भने–‘हिजो अस्ति त परिवारकै सदस्यले खानेकुरा ल्याइदिन्थे । अब आजबाट कसले पो ल्याइदेला ! आज बिहान दाईले रोटी तरकारी ल्याईदिएका थिए । त्यही खाएँ । केही फलफुल पनि छ कोठामा । आज त्यसैले खाजा टार्नुपर्ला ।’

अस्पतालले पनि राम्रोसँग उपचार नगरेको बताउँदै उनले भने–‘शुरुको दिन जाँचपछि मलाई सिटामोल दिइएको थियो । आजसम्म पनि त्यही मात्रै हो औषधिको नाममा मैले आएको ।’

साथै उनले मलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि कुनै डाक्टरलेके भइरहेको छ भनेर सोधेका छैनन् ।

उनले अस्पतालको यस्तो गतिविधि देखेर दंग भएको बताउँदै भने–‘दाईले ल्याईदिएको थर्मोमिटरले आफैं ज्वरो नापेको छु । हिजो बिहान ९६ डिग्री थियो । आज बिहान नाप्दा ९७ थियो । घाँटी दुख्ने, छाती दुख्ने केही नभएको छैन ।’

त्यसोत काठमाडौं आएर उनलाई लिन मोटरसाइलमा मामाको छोरो त्रिभुवन विमानस्थल आएका थिए । त्यसदिन धापासीस्थित मामाको घरमा बसेको र भोलिपल्ट चैत ८ गते दिउँसो २ बजेको बुद्ध एअरको विमानबाट नेपालगञ्ज पुगे र त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माईक्रो चढेर राति घर पुगेका थिए ।

घर आएको भोलीपल्ट हल्का ज्वरो र कफ आएको उनले बताए । उनले भने–‘सन्चो नभएपछि परिवारका सदस्यहरुले अस्पताल जानुस् भनेपछि म ११ गते मामाकै छोराको मोटरसाईकल चढेर सेती अञ्चल अस्पताल आएँ ।’

डाक्टरहरुले छातीको एक्सरे, रगत र पिसाबको जाँच गर्यो । त्यतिबेलासम्म सबै नर्मल देखिएको थियो भने नाक र घाटीबाट र्यालजस्तो पदार्थ निकालेर काठमाडौंमा जाँच गर्न पठाएका थिए । काठमाडौंबाट नाक र घाटीको रिपोर्ट आएपछि मात्र आफू कोरोना संक्रमित भएको पुष्टि भएको थियो । उद्यपी उनलाई परिवारको सदस्यहरुले भनेपछि मात्र थाहा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्