विराटनगरमा अत्याधुनिक बस टर्मिनल सञ्चालन



विराटनगर : विराटनगर महानगरपालिका ११ मा अत्याधुनिक टर्मिनलसहितको बसपार्क सञ्चालनमा आएको छ । अत्याधुनिक र सुविधा सम्पन्न दुईतले बस टर्मिनल पुरानै बसपार्कमा सञ्चालनमा ल्याइएको हो । 

बसपार्क निर्माण पूरा भएको झन्डै तीन महिनापछि सञ्चालमा ल्याइएको हो । बसपार्कको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे । सो अवसरमा राईले भौतिक पूर्वाधार निर्माण गर्ने भन्दा पनि त्यसको सही सदुपयोग नै अहिलेको चुनौती रहेको बताए । उनले ठूलो धनराशिमा निर्माण भएको भौतिक संरचनाको संरक्षण र सदुपयोगमा ध्यान दिनु पर्ने बताए । राईले यस्ता संरचनाको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैको भएकोमा जोड दिए । मुख्यमन्त्री राईले धेरै संरचनाहरु उचित ढंगले सञ्चालन हुन नसक्दा जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरे । 

बस टर्मिनल सञ्चालनमा आए पनि महानगरपालिकाले यसका लागि कायविधि भने बनाएको छैन । कार्यविधि नहुँदा सञ्चालनमा अन्योल उत्पन्न भएको छ । कार्यविधि बनिनसकेका कारण बस टर्मिनल केही महिना महानगरका कर्मचारीले सञ्चालन गर्ने जनाइएको छ । 

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सञ्चालन गर्नेगरी नगर विकास कोषको ऋण सहयोगमा निर्माण गरिएको बस टर्मिनल काम थालिएको २० महिनामा पूरा भएको हो । ऋण अनुदानमा निर्माण भएको बसपार्क निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्ने तयारीमा महानगर छ । तर यस विषयमा अझै टुंगो भने लागिसकेको छैन ।

 

बसपार्कमा महानगरपालिकाले केही महिनाअगाडिदेखि नै कर्मचारी परिचालन गरिसकेको थियो । तिनै कर्मचारीले उठाउने शुल्कबाट ऋण र ब्याज तिर्ने तयारी महानगरको छ ।  करिव आठ करोड ४७ लाखमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा ६० वटा बस पार्किङ गर्न सकिन्छ । एक बिघा १० कट्ठा क्षेत्रफलमा बस टर्मिनल फैलिएको छ । निर्माणको जिम्मा गौरी–पार्वती निर्माण सेवा काठमाडौंले पाएको थियो । 

बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालयलगायतका सुविधा छन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहनेछन् भने दोस्रो तलामा रेस्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने बताइएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बस टर्मिनल भित्र थप गर्नुपर्ने संरचनाको निर्माण तत्कालै थाल्ने योजना रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्