कोरोनाको प्रभाव : १ सय ९ बर्षको इतिहासमा जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित विश्वभरीका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

उनले भने, ‘मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती अझै जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ ।’

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मुलढोका बन्द गरिएको उनले जानकारी दिए।

भगवान रामको जन्मोत्सव रामनवमीको ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द हुनुले रामनवमी मेला लाग्ने सम्भावना समेत कम भएको छ । रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दथ्यो । तर यस पटक कोरोना भाइरसको त्रासका कारण रामनवमी समेत प्रभावित भएको छ ।

रामनवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि कुनैपनि उत्सवको कार्यक्रम नरहेको महन्थ दासले बताए ।

प्रतिक्रिया दिनुहोस्