कांग्रेसले दिएका सुझाव कार्यान्वयन गरिँदै



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९को सङ्क्रमण नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि दिएका सुझाव सरकारले कार्यान्वयन गर्ने जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलले भाइरसको नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि सरकारले कार्यान्वयन गर्नुपर्ने विषय समेटेर ‘नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’का संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई शुक्रबार ज्ञापन पत्र बुझाएको थियो ।

कांग्रेसबाट प्राप्त सुझाव उपयोगी र सान्दर्भिक रहेको तथा कांग्रेसको साथ र सहयोगले सरकारलाई थप ऊर्जाका साथै आत्माबल दिएको उपप्रधानमन्त्री पोखरेलले बताएका कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपरकण (पिपिइ)लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने र उक्त सामग्री सातै प्रदेशमा यथाशीघ्र वितरण गरिने बताएका प्रमुख सचेतक खाँणले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्