जहाँ दलित र गैरदलितले सँगै जमारा राख्छन्



नुवाकोट : जातीय छुवाछुत प्रथाले समाज ग्रस्त भइरहँदा नुवाकोटको ऐतिहासिक बेलकोटगढीका बासिन्दाले भने जातीय छुवाछुत विरुद्ध प्रेरणादायी संस्कार बसाएका छन् ।

पूर्वी नुवाकोटको बेलकोटगढी नगरपालिका–१० का सबै जातिले निरञ्जना भगवती मन्दिरमा सामुहिक रुपमा जमरा राखेर नमुना संस्कार देखाएका हुन् । दशैँको घटस्थापना, जमरा राख्ने दिन ब्राह्मण, क्षत्री, जनजाति र दलित समुदायले पनि मन्दिरमा भेला भएर एकै ठाउँमा जमरा राख्दै आएका हुन् ।

 

यहाँका १ सय ३८ परिवारमध्ये १८ परिवारले दलित समुदायको प्रतिनिधित्व गर्छन् । उनीहरुले पनि सामुहिक रुपमै एकै मन्दिरभित्र जमरा राखेका हुन् । पृथ्वीनारायण शाहको पालादेखि नै यहाँको निरञ्जना भगवतीको मन्दिरमा सामुहिक जमरा राख्ने परम्परालाई यस पटक पनि स्थानीयले निरन्तरता दिएका हुन् ।

 

माओवादी युद्धको समयमा भने यसरी समुहिक जमरा राख्ने चलन भंग भएको थियो । पछिल्ला केही वर्षयता उनीहरुले आफ्नो २ सय ४० वर्ष भन्दा पुरानो संस्कारलाई निरन्तरता दिएको पण्डित नारायण प्रसाद पौडेलले बताए ।

 

त्यसो त, यो चलनलाई निरन्तरता दिन बेलकोटगढी नगरपालिकाले यस वर्ष एक लाख ४० हजार रुपैयाँ उपलव्ध गरायो । सामुहिक रुपमा जमराले राख्ने चलनले छुवाछुत प्रथा विरुद्ध सकारात्मक सन्देश दिने बताउँछन् वडाध्यक्ष पुर्णबहादुर त्रिपाठी ।

 

सदरमुकाम बिदुरदेखि १८ किलोमिटर पूर्वमा रहेको निरञ्जना भगवती मन्दिरमा हरेक घटस्थापनाको दिन र टीकाको दिन भव्य मेला नै लाग्छ । गाउँलेहरु घटस्थापनामा जमरा राख्न आउँछन् । टीकाको दिन जमरा टिप्न आउँछन् ।

 

स्थानीयका अनुसार सामुहिकता र जातीय सद्भावको यस्तो अभ्यास सम्भवतः देशमै एक मात्रै हो । मन्दिरमा एकै जना पुजारी हुन्छन् । जसले बिहानैदेखि स्नान गरी पूजा गरी सबैको लागि जमरा राखिदिन्छन् । जमरापछि भने मन्दिरमा स्थानीय नेवार समुदायको अगुवालाई सहमतिमै जमराको नाइके बनाउने चलन छ । उसैले जमराको रेखदेख र स्याहार गर्छ ।

प्रतिक्रिया दिनुहोस्