दाहसंस्कारमा ‘नो डिस्काउन्ट’



काठमाडौं : सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।

हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ । काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन् ।

प्रतीक्षालयमा बसेर हामी यो सब नियालिरहेका थियौँ । केहीबेरमा युवती हामीनजिकै आएर कुर्सीमा बसिन् । उनी अवाक थिइन् । केहीबेरमा युवा पनि आए । गरिबीलाई सराप्दै उनी भुतभुताउन थाले, ‘उपचार गरेर बचाउन त सकिएन, मरेपछि लास पनि जलाउन सकिएन ।’ युवती प्रतिक्रियाविहीन थिइन् ।

उनीहरूको पीडा के हो ? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे । किनारमा एउटा शव देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।

रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान निधन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।

रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।

कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए ।

रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ ।’ बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई फोन लगायौँ । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए ।

खतिवडाको आश्वासन बोकेर हामी मृतकका परिवारसहित दहन कक्ष पुग्यौँ, तर त्यहाँका कर्मचारी पूर्वअडानबाट टसमस भएनन् । फेरि खतिवडालाई फोन ग¥यौँ । काउन्टरका कर्मचारीसँगै कुरा गर्न भन्यौँ । तर, कर्मचारी बोल्न तयार थिएनन् । धेरै याचना गरेपछि उनी आफ्ना हाकिमसँग कुरा गर्न तयार भए ।

अब समस्या समाधान भयो भनेर हामीले लामो सास तान्न मात्र के खोजेका थियौँ, काउन्टरका कर्मचारीले अर्को अत्तो थापे, उहाँ ९खतिवडा०ले भनेर हुँदैन । अनि उनैले उपाय सुझाए– कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्यलाई भन्नुहोस् । हामीले वैद्यको नम्बर खोज्यौँ, र उनलार्ई फेरि विवरण बयान गर्‍यौँ ।

वैद्यले काउन्टरका कर्मचारीसँग संवाद गरे । उनीहरूबीच के संवाद भयो, शव दाह गर्न कर्मचारी तयार भए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्