फिल्म हलहरुले कर्जाको व्याज चैत मसान्तसम्म तिर्नु नपर्ने



काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । केही दिनदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउएका छैनन् । वैशाख १८ गतेसम्मलाई देशभरका सबै फिल्म हल बन्द गरेको छ । यसबाट नेपाली फिल्म क्षेत्रलाई करोडौंको नोक्सान भएको छ । सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेपछि बैंकबाट कर्जा लिएका हल सञ्चालकलाई ठूलो मार परेको छ ।

हल सञ्चालकहरुको समस्यालाई मध्यनजर गर्दै केही दिनअघि चलचित्र निर्माता संघले सरकारलाई सिनेमा घरहरुले प्रयोग गर्ने बत्तीको भुक्तानी, फिल्म तथा संगीत क्षेत्रमा काम गर्ने कलाकार तथा श्रमिकको पारिश्रमिकमा कटाइने कर र फिल्म तथा गीत संगीत उत्पादन गर्ने कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जाहरुमा लाग्ने व्याज मिनाहा गर्न तीन बुँदे माग बुझाएको थियो ।

अन्ततः निर्माता संघले गरेका मागहरु सरकारले सम्बोधन गरेको छ । बुधवार अर्थमन्त्रीको अध्यक्षमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाबाट प्रभावित व्यवसायहरुको कर्जाको सावा तथा व्याज तत्काललाई स्थगन गर्ने निर्णय गरेको हो । सरकारले गरेको यो निर्णयलाई फिल्मसँग सम्बन्धित संघ संस्थाहरुले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्