विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन गर्ने प्रदेश २ सरकारको निर्णय



जनकपुरधाम : एकातर्फ कोरोनाभाइरस संक्रमणको प्रभाव विश्वव्यापी रुपमा निरन्तर फैलिरहेको छ भने अर्कोतर्फ लकडाउनका कारण गरिब, विपन्न तथा दैनिक ज्यालादारीमा मजदूरी गरिरहेका मजदुरहरु खाद्यान्नको अभाव झेलिरहेका छन् ।

गरिब, विपन्नहरुको खाद्यान्न समस्यालाई दृष्टिगत गर्दै प्रदेश २ सरकारले उनीहरुको खानाको व्यवस्थापन गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज (आइतबार) सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको लागि खानाको व्यवस्थापन सरकारको तर्फबाट गर्ने निर्णय गरिएको हो ।

उनीहरुको खानाको व्यवस्थापनका लागि प्रदेशका महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

त्यस्तै कोरोना संक्रमितहरुको उपचारमा खटिरहेका चिकित्सकहरुको जीवन विमा गर्ने र उनीहरुलाई शत प्रतिशत प्रोत्साहन भत्ता समेत दिने निर्णय भएको मन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्