कोरोनाका कारण जनकपुरधाममा दशैं, छठ र रामनवमी पर्व प्रभावित



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिँदै गइरहेको कोरोनाभाइरस संक्रमणको क्रासका कारण जनकपुरधाममा चैते दशैँ, चैते छठ र रामनवमी पर्व प्रभावित भएको छ ।

जनकपुरधामस्थित राजदेवी मन्दिरमा मन्दिरलाई झिलिमिली वत्ति र पण्डालले सजाइएपनि दर्शनका लागि पुग्ने श्रद्धालु एकजना पनि छैनन् ।

गंगासागर पोखरी घाटमा समेत चैते दशैँको आयोजना गरिएको छ तर त्यहाँ पनि दर्शनार्थीहरु पुगेको देखिएन । कोरोना भाइरसको त्रासका कारण प्रत्येक वर्ष चैत शुक्ल षष्ठी तिथिका दिन हुने चैते छठ पनि यस बर्ष नहुने भएको छ । स्थनीय निभा झाले भनिन् ‘ लकडाउनका कारण बजार पूर्णरुपले बन्द छ, छठका लागि आवश्यक पर्ने सामानहरु किन्न सकेको छुइन, अनि कसरी छठ मनाउने ?’उनले अहिलेको समयमा पहिला आफै सुरक्षित हुनुपर्ने आवश्यकता रहेकोले छठ पर्व यसबर्ष नमनाई अर्को बर्ष मनाउने बताइन् ।

कोरोना त्रासकै कारण सेभ हिस्टोरिकल जनकपुरधामले गंगासागर घाटमा प्रत्येक साँझ आयोजना गर्दै आएको गंगा आरती पनि अहिले बन्द गरिएको छ ।

कोरोनाकै कारण यस वर्ष रामनवमी पर्व पनि जनकपुरधाममा नहुने भएको छ । जनकपुरधामको प्रमुख पर्वहरुमध्ये एक रामनवमी पर्वको तयारी अन्य वर्षहरुमा दुई साता अगाडीदेखि नै हुन्थ्यो । तर, यसपटक कोरोनाको त्रास र लकडाउनको कारण रामनवमी मेला नलाग्ने भएको छ । कहिल्यै स्थगित नभएको यो मेला यसपटक भाइरसको त्रासकै कारण स्थगित गरिएको हो ।

राजदेवी मन्दिरका महन्थ राम गिरीले यस महामारीको समयमा श्रद्धालुहरु दर्शनका लागि नआएपनि आफुहरुले पूजापाठ गरिरहेको बताए । राजदेवी माताले कोरोनको यस महामारीलाई समाप्त गर्ने महन्थ गिरीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्