यसकारण चुरोट पिउने व्यक्तिलाई कोरोना भाइरस संक्रमणको खतरा



एजेन्सी : विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम यतिबेला जताजतै छ । जो कोहि पनि यो संक्रमणको उच्च जोखिममा रहेका छन् ।

महिलाभन्दा पुरुष, बालबालिकाभन्दा वृद्धवृद्धामा बढी भनिएपनि यसको जोखिममा जो कोहि पनि पर्न सक्छन् ।

पछिल्लो समय विश्व स्वास्थ्य संगठनले ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढी भएको जनाएको छ ।

डब्ल्यूएचओका अनुसार धुम्रपान गर्दा हातलाई चुरोटसँगै मुखमा जोड्दा संक्रमण फैलने सम्भावना धेरै रहन्छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहन्छ । त्यस्तै, धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ ।

चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् ।

कोभिड–१९ को संक्रमण भेटिएका अधिकांश चिनियाँ बिरामीमा निमोनिया देखिएको थियो, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने व्यक्तिमा निमोनिया हुने जोखिम १४ गुणा बढी रहने तथ्याङ्कले देखाएको छ ।

फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ, यसले मृत्युको मुखमा धकेल्नसक्छ । त्यस्तै, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेमा इन्फ्लुयन्जाको खतरा पनि दोब्बर हुन्छ ।

क्षयरोगका हकमा धुम्रपान सेवन गर्नेहरु नगर्नेको तुलनामा संक्रमित हुने जोखिम दोब्बर रहन्छ र धुम्रपान गर्नेको मृत्युदर नगर्नेको तुलनामा चारगुणा बढी छ ।

प्रतिक्रिया दिनुहोस्