बाह्र बिघामा अलपत्र भारतीय मजदूर, एक हप्तादेखि भोकै



जनकपुरधाम : कोरोना भाईरस संक्रमणको त्रासका कारण गरिएको लकडाउनमा जनकपुरधामस्थित रंगभूमी मैदान (बाह्र बिघा) मा केही भारतीय मजदूरहरु अलपत्र परेका छन् ।

लकडाउनका कारण खाद्यान्न सामग्री नपाएर भारत महाराष्ट्रका ३१ जना गरीव मजदूरहरु परिवार सहित विगत एक हप्तादेखि भोकभोकै बस्न बाध्य भएका छन् । खाद्यान्न अभावमा उनीहरु त्यहाँ भोकले छटपटाइरहेका छन् ।

भारत महाराष्ट्रका ३१ जना गरीवहरु काँचले बनेका प्लेटहरु बेचेर आफ्नो जिवन गुजारा गरिरहेका थिए । तर कोरोनाको कारण सरकारले देशभर लकडाउन गरेपछि उनीहरुको व्यापार चौपट भएको छ । व्यापार नै बन्द भएपछि दैनिक छाक टार्न समेत उनीहरुलाई समस्यामा परेको छ ।

उनीहरुसँग खानलाई न अन्न छ न त गोजीमा पैसा नै । रंगभूमी मैदानमा सानो सानो टेन्ट बनाएर उनीहरु बसिरहेपनि दिनरात खानाका लागि छटपटाइरहेका देखिन्छन् ।

त्यहाँ रहेका सबैको ज्यान जोखिममा छ । खाना अभावले बालबालिकासँगै व्यस्क र वृद्धवृद्धाहरु समेत विगत करिव एक हप्तादेखि भोकभोकै बस्न बाध्य छन् । उनीहरुसँग सानै उमेरका ६ जना बालबालिकाहरु भोकले छटपटाइरहेका छन् ।

यस्तो अवस्थामा उनीहरुको खाद्यान्न व्यवस्थापनतर्फ तिम्रो ध्यान जान्छ कि सरकार ?

प्रतिक्रिया दिनुहोस्