सरकारको लापरवाहीले लोकसेवा आयोगको कार्यतालिका प्रभावित



काठमाडौं :  सरकारको लापरवाहीले लोकसेवा आयोगको यस वर्षको नियमित कार्यतालिका प्रभावित हुने भएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवामा रिक्त दरबन्दीको विवरण निर्धारित समयमा आयोगमा नपठाउँदा कार्यतालिका प्रभावित हुने अवस्था आएको हो ।

 

सरकारले आयोगको कार्यतालिका अनुसार खरिदारदेखि सहसचिवसम्म रिक्त दरबन्दीको विवरण पठाउनु पर्छ । सामान्यतया असोज दोस्रो सातासम्म उपसचिव र सहसचिवको रिक्त दरबन्दी विवरण आयोगमा पठाउनु पर्नेमा तेस्रो सातासम्म पनि पठाएको छैन ।

 

आयोगले गत साउन १ मा विभिन्न पदका लागि हुने परीक्षाको विज्ञापन गर्ने कार्यतालिका प्रकाशन गरिसकेको छ । सरकारको असहयोगले निर्धारित समयमा विज्ञापन गर्न नसक्ने अवस्था आएको आयोग स्रोतले जानकारी दिएको छ ।

 

आयोगले सामान्यलाई बारम्बार पत्राचार गर्दै रिक्त दरबन्दीमा कर्मचारी माग गर्न आग्रह गर्दै आएको छ । आयोगको कार्यतालिका अनुसार आगामी ३१ असोजमा सहसचिव र उपसचिवको परीक्षाको विज्ञापन गर्नुपर्छ ।

 

लोकसेवाको तालिकाअनुसार सहसचिव र उपसचिवको विज्ञापन असोज ३१ मा गर्न सके आगामी मंसिरमा परीक्षा सञ्चालन हृुने छ । विज्ञापन निकाल्न ढिला भए परीक्षा पनि ढिलो हुनेछ ।

 

सरकारले बिहीबारसम्म विवरण पठाए अधिकृतको विज्ञापन कात्तिक र मंसिरमा तथा परीक्षा फागुन÷चैतमा हुनेछ । नायवसुब्बाको विज्ञापन पुस÷माघमा र परीक्षा वैशाखमा हुनेछ । खरिदारको विज्ञापन फागुन÷चैतमा र परीक्षा जेठ÷असारमा हुने छ ।

 

आयोगका सचिव महेन्द्र गुरागाइँले सहसचिव र उपसचिवको खाली रहेका दरबन्दीको विवरण मन्त्रालयबाट नआएपछि समस्या भएको बताए । सरकारले विवरण पठाउन ढिलो गरे कार्यतालिका प्रभावित हुने उनले बताए । ‘बिहीबारसम्म समय छ ।

 

सरकारले कार्यतालिकामा विचार पुर्याउँछ भन्नेमा विश्वस्त छौं’, उनले भने । उनले बिहीबारसम्म विवरण नआए परीक्षाको तालिका प्रभावित हुने बताए । न्याय सेवाको रिक्त दरबन्दीकोे विवरण प्राप्त भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्