शहिदनगरले बाहिरबाट आएकाहरुको तथ्याङ्क संकलन गर्दै



जनकपुरधाम : भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुबाट नेपालमा कोरोना संक्रमण देखिन थालेकोले धनुषाको एक स्थानीय तहले आफ्नो नगरभित्र बाहिरबाट आएकाहरुको तथ्याङ्क संकलन गर्ने काम सुरु गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिकाले आफ्नो सिमित साधन स्रोतका बावजूद नगरभित्रको कुल ९ वटै वडामा भारत सहित विभिन्न देशबाट आएका आप्रवासीहरुको विवरण संकलन गरि तत्काल क्वारेन्टाइनमा राख्न थालेको हो ।

नगरपालिकाको वडा नम्बर–१ मा भारतबाट १३ जना, कतारबाट ४ जना र बंगलादेशबाट १ जना गरि जम्मा १८ जना व्यक्तिहरु आएका छन् । त्यस्तै वडा नम्बर–४ मा भारतबाट १० जना,कतारबाट ३ जना,दुबईबाट १ जना र साउदीबाट २ जना गरि १६ जना व्यक्तिहरु आएका छन् ।

वडा नम्बर–५ मा भारतबाट १० जना,कतारबाट १ जना र साउदीबाट १ जना गरि जम्मा १२ जना व्यक्ति शदिदनगरमा आएका छन् । वडा नम्बर–६ मा भारतबाट ९ जना र कतारबाट ४ जना गरि जम्मा १३ जना आएका छन् भने वडा नम्बर–७ मा भारतबाट ११ जना आएका छन् । त्यस्तै वडा नम्बर–८ मा भारतबाट ३ जना र कतारबाट २ जना गरि ५ जना एवं वडा नम्बर–९ मा भारतबाट ७ जना व्यक्ति गरि शहिदनगर नगरपालिकामा अहिलेसम्म ८२ जना व्यक्तिहरु अन्य देशबाट आएका छन् ।

मेयर बरबरियाले प्रत्येक वडाका अध्यक्ष तथा सदस्य र अतिरिक्त म्यानपावर परिचालन गरि बाहिरवाट आएका व्यक्तिहरुको विवरण संकलन गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको जानकारी दिए । उनले भने,‘संक्रमणबाट नगरभित्र प्रवेश गरेका आप्रवासी नागरिकलाई बचाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं । यसले देश,जनता र सरकारलाई समेत सहयोग पुग्छ ।’

कोरोनाको त्रासका कारण उनीहरु क्वारेन्टाइनमा आउन समेत नमानिरहेकाले समस्या भइरहेको मेयर बरबरियाले बताए ।

यसैबीच,शहिदनगर नगरपालिकाले आफ्ना नगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई कोरोना प्रोटेक्टिभ समाग्रीहरु प्रदान गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापनको लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट सहित एप्रोन लगायतका सामग्रीहरु स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसबाट नगरवासीलाई जोगाउन प्रोटेक्टीभ एप्रोन ३ थान, लुज ग्लोभस ६०० थान,सर्जिकल ग्लोभस ४० थान सहित क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु समेत प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्