कोरोना संकटका बेला गर्भवती महिला कसरी बच्ने ?



काठमाडाैं : किर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । नौ महिना लागेपछि दिएकोे मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।

दुई दिन अघिकै कुरा हो । पेट दुखेर कीर्तिपुर अस्पताल पुग्दा चिकित्सकले नै किन आएको भनेर हकारे । राउतले कोरोना भाइरस जसमा पनि हुनसक्छ, यसरी जुनसुकै बेला अस्पताल नआउनुहोस् भने भनेर सुनाए । सुत्केरी व्यथा लागेपछि मात्र अस्पताल आउनु भनेर फर्काइयो । हुन पनि गर्भवती अवस्था संवेदनशील भएकाले सङ्क्रमणको जोखिम बढी हुन्छ । चिकित्सककै सल्लाहमा काम गर्नुपर्छ । सबैतिरको बन्दले राउत जस्तै धेरै गर्भवती अन्योलमा छन् ।

देशकै सबैभन्दा ठूलो परोपकार प्रसूति गृहमा समेत बहिरङ्ग सेवा बन्द छ । त्यहाँ अति आवश्यक जनरल सेवा र इमर्जेन्सी सेवा मात्र खुला छ । त्यो भनेको सुत्केरी गराउने सेवा मात्र हो । अन्य गर्भवती र बिरामीलाई पनि चिकित्सकले दिएको औषधि घरमै सेवन गर्ने र अति आवश्यक परेमा मात्र अस्पताल आउन भनिएको छ ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारी आदेश अनुसार अन्य अस्पतालले पनि बहिरङ्ग सेवा बन्द गरेका छन् । आकस्मिक कक्ष मात्र चलेको छ । प्रसूति गृहमा मात्र दैनिक दुई सयभन्दा बढी बहिरङ्ग सेवामा महिला गर्भ परीक्षणका लागि आउँथे । यहाँ दैनिक ७० जनाभन्दा बढी सुत्केरी हुनेगर्छन् । पाटन अस्पतालमा दैनिक १५ जना सुत्केरी हुन्छन् । चितवनकै भरतपुर अस्पतालमा पनि दिनको ३० जनाभन्दा बढी सुत्केरी हुनेगर्छन् ।

गर्भवती मात्रै होइन सुत्केरीलाई पनि अस्पतालमा धेरै नबस्न चिकित्सक सुझाउँछन् । अरू मानिस जस्तै सुत्केरी र गर्भवतीलाई पनि घरमै सुरक्षित राख्नुपर्ने सुझाव स्त्रीरोग विशेषज्ञ डा. विमला मल्ल दिन्छिन्। बहिरङ्ग र अन्य सेवा बन्द भए पनि चिकित्सक र स्वास्थ्यकर्मी पनि विशेष अवस्थामा बाहेक अस्पताल र बाहिर निस्केका छैनन् ।

उनले सुत्केरी हुने बेला भएका गर्भवतीले आफू नजिक रहेको अस्पतालमै जानु राम्रो हुन्छ भनिन्। उनका अनुसार बन्दका बेला सवारी नपाउने, जति टाढा गयो उति नै सङ्क्रमणको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती स्वयं र परिवारका सदस्यले पहिल्यै सुत्केरी गराउने अस्पताल, साधन र अन्य आवश्यक तयारी गर्नुपर्छ ।

लकडाउन लम्बिएको अवस्थामा गर्भवती र सुत्केरी मात्र होइनन् अन्य बिरामीलाई पनि अप्ठेरो पर्ने चिकित्सक डा. मल्ल बताउँछिन् । उनले उच्च जोखिम वा सिकिस्त भएमा आफूसँग जँचाएको कागजपत्र बोकेर एम्बुलेन्समा सुविधा भएको अस्पताल जान सक्ने औँल्याइन् ।

यतिबेला उनलाई गर्भवती र सुत्केरीले बढी डराएर फोन गरिरहेका छन् । मल्लले तीन हप्ता बाँकी छ, एक महिना बाँकी छ, के गरौँ डाक्टर साब भन्छन् भनिन्। त्यसो हुँदा मल्लले शिशु पेटमा चलेको छ कि छैन भनेर सोध्छिन् । शिशु चलेको छ, दुखाइ छैन, रक्तश्राव छैन भने नआत्तिनु भनेर सम्झाउनुहुन्छ । उहाँ बाहिर ननिस्कनु र आराम गर्न भनिन्। यसैगरी उनले पोषिलो खानासँगै दिइएको आइरन र क्याल्सियम निरन्तर गर्भवतीले सेवन गर्नुपर्ने उल्लेख गरिन्।
सामान्य मानिसमा पनि यतिबेला कतै न कतै मानसिक तनावको अवस्था छ । गर्भमा शिशु भएकी महिलामा झन् बढी तनाव हुनेहुँदा त्यसलाई कम गर्न परिवारका सदस्यले मद्दत गर्नुपर्नेमा जोड दिइन्।

सोमबारबाट अस्पताल सञ्चालनमा

यो अस्पताल सोमबारबाट सञ्चालनमा ल्याइने कीर्तिपुरका नगरप्रमुख रमेश महर्जनले जानकारी दिए। प्रारम्भमा ३० जनाको उपचार गर्न सकिने र पछि विस्तार गरी ५० बेडको बनाइने योजना नगरपालिकाले बनाएको छ । त्यसका लागि आवश्यक तयारी सामग्रीको जोरजामसमेत गरिएको जनाइएको छ ।
हाल बिरामीको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै नगरप्रमुख महर्जनले कीर्तिपुर अस्पताल र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको समन्वयमा आइसोलेसन कक्ष सुरु गरिने जानकारी दिए ।

आइसोलेसन कक्षमा नगर क्षेत्रका सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीको उपचार गरिनेछ । कोरोना सङ्क्रमणको त्रासमा नागरिक सम्बद्ध अस्पतालमा नै पुग्ने गरेको उल्लेख गर्दै नगरप्रमुख महर्जनले ती सबै बिरामीको उपचार नगरपालिकाकै पहलमा स्थापित आइसोलेसन कक्षमा गरिने जनाए। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्