विपन्न २३ घरपरिवारलाई खाद्य सामग्री



तनहुँ : व्यास युवा क्लब सञ्जाल र सामाजिक युवा अभियन्ता दमौलीको सक्रियतामा व्यासनगरपालिका–१२ कमलबारीस्थित घर्ती, दलित र तामाङ बस्तीमा रहेका २३ परिवारलाई आइतबार खाद्यान्न सहयोग गरिएको छ । सदरमुकाम दमौलीका युवा सुनिल घिमिरे, सुरेश घिमिरे, श्याम मौरती, सन्तोष गोदार र पोखरा निवासी अर्जुन केसीको सहयोगमा प्राप्त भएको उक्त खाद्यान्न बस्तीमा पुगेर बितरण गरिएको हो ।

सञ्जालका अध्यक्ष गौरव पन्थ अभियन्ताका सल्लाहकार लक्ष्मीभक्त खनालले संयुक्त रुपमा एक घरपरिवारलाई एक बोराका दरले चामल हस्तान्तरण गरे ।

घुम्ती सुपथ मूल्य पसल

आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले दुर्गम क्षेत्रका उपभोक्ताका लागि घुम्ती सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिका वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

वडाका ज्याला मजदूरी गरी खाने १३० मजदुर परिवारलाई खाद्यान्न सहयोगक गर्न वडाध्यक्ष लामिछानेको संयोजकत्वमा कमाण्ड पोष्ट समेत गठन गरेको सो वडा कार्यालयले जनाएको छ ।

निर्मलमा आठ शय्याको क्वारेन्टाइन

व्यासनगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा आइतबार आठ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । कोभिड–१९ को जोखिम हुनबाट जोगाउन विभिन्न देशबाट घर फर्किएकाहरुलाई सुरक्षित किसिमले राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको हो ।

वडाको निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्वारेन्टाइन स्थापना गर्ने योजना रहे पनि शौचालय र शौचालय निर्माण भई नसकेका कारण विद्यालयमा व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । व्यासनगरपालिका–५चापाघाटस्थित काली भञ्जन गणका सैनिकको सहयोगमा पाल ल्याएर क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए ।

घरघरमा साबुन

व्यासनगरपालिका–१ स्थित चारकुने टोल विकास संस्थाद्धारा आइतबार टोलबासीको घरघरमा पुगेर एएएक साबुन वितरण गरिएको छ । टोल संस्थाका सचिव नवीन बस्ती र सदस्य भरत अधिकारीले साबुन बितरण गरेका हुन् ।

मास्क वितरण गरिँदै

व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडावासीलाई मास्क वितरण गर्ने भएको छ । वडामा नै मास्क तयार गरी वितरण गर्न लागिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

क्वारेन्टाइनमा वाइफाई

व्यासनगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा तेह्र शय्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइन निर्माणसँगै मानिसका लागि शुद्ध खानेपानी, वाइफाई, खाना र सुरक्षाको व्यवस्था गरिएको छ । पराशर टोल विकास संस्थाबाट क्वारेन्टाइनमा बस्ने मानिसहरुका लागि खानाको सुविधाको प्रबन्ध मिलाइएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्