चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएको भन्दै स्काई ट्रक फिर्ता



काठमाडौं : चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएको भन्दै नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फिर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुई वटा स्काई ट्रकमा ‘अनौठो गन्ध’ आएको भन्दै बीचबाटै फर्किएको हो । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक उडेको थियो ।

विमानचालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनः त्रिभुवन विमानस्थल नै फिर्ता भएको थियो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरे।

‘गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो । त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो । अब धनगढी लानेले पनि उड्न तयार छ,’ उनले भने । उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्