यी गायकले गरे यस्तो काम: प्रधानमन्त्री राहत कोषमा ५१ हजार र सडकमा खटिएका सुरक्षाकर्मीलाई सहयोग



काठमाडौं – गायक आशिस सचिनले लकडाउनलाई प्रभावकारी बनाउन सडकमा खटिएका सुरक्षाकर्मीलाई पन्जा, मास्क, पानी र चाउचाउ सहयोग गरेका छन् ।

सोमबार अस्पताल जाने क्रममा सडकमा बिना मास्क र पन्जा ड्यिुटीमा खटिएका सुरक्षाकर्मीहरुलाई उनले १५ केस पानी, ८ केस चाउचाउ, एक बाकस पन्जा (लगभग ३०० जति), १४४ वटा सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकारद्वारा आह्वान गरिएको लकडाउनका क्रममा अस्पताल जाँदै गर्दा उनले चोक–चोकमा खटिएका सुरक्षाकर्मीको मुखमा मास्क र हातमा पञ्जा नदेखेपछि उनले सर्जिकल मास्कसहित पन्जा वितरण गर्दै आएको बताएका छन् ।

लाखौं जनताको सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीको स्वास्थ्यमाथि खेलबाड गरिएकोमा आपत्ति जनाउँदै उनले लेखेका छन्, ‘उहाँहरुमध्ये कतिपयले सर्जिकल मास्कको सट्टामा सामान्य कपडाको मास्क प्रयोग गरिरहनुभएको थियो र हातमा पन्जा समेत लगाउनुभएको थिएन । यो त सरासरी उहाँहरुको र आम जनताको समेत स्वास्थ्यमा खेलबाड थियो । मलाई अत्यन्त अत्यास लागेर आयो ।’

आफूले सकेजति सहयोग गर्न सकेकोमा र सुरक्षाकर्मीको मनोबल बढाउन सकेकोमा खुशी लागेको बताउँदै उनले अगाडि लेखेका छन्, ‘तर, उहाँहरुको अवस्था देखेर र कुरा सुन्दा आँखामा आँसु आयो । पन्जाको व्यवस्था त थिएन न नै । तर, एउटै मास्कले चार दिनसम्म काम चलाइरहेकोसम्म अवस्था देखियो । सरकारले गरेको कामको म समर्थन गर्दछु, जनताको लागि निकै राम्रो व्यवस्थापन गरेको छ, धन्यवाद पनि दिन्छु । तर, सामान्य पन्जा र सेनिटाइजरको लागि हारालुछ गर्नुपर्ने अवस्थामा हाम्रा सुरक्षाकर्मीहरुले जिम्मेवारी बहन गर्नुपर्ने ।। वास्तवमै गम्भीर र सोचनीय कुरो हो । म यो देशको नागरिक र साथै एउटा कलाकार पनि भएको नाता ले सम्बन्धित निकाय र अधिकारीको यश विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसैगरी, उनले सरकारले कोरोनाविरुद्ध लड्न स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा ५१००० (एकाउन्न हजार) सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्