वीर अस्पतालमा कोरोना आशंका गरिएका दुई जनाको मृत्यु



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा काठमाडौंको वीर अस्पतालमा भर्ना भएका दुई जनाको आज (सोमबार) मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेका छन् ।

वीर अस्पतालका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले आइतबार साँझ अस्पताल भर्ना भएकी महिलाको सोमबार बिहान मृत्यु भएको हो । यसैगरी ज्वरो आएर उपचारका लागि वीर अस्पताल आएका पुरुषको आजै दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

यसैबीच कोरोनाभाइरस आशंकामा आजै ललितपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका ३५ वर्षीय युवकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी दुगौ सिंहले धादिङ खनियाँपानी घर भएका युवकको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनी चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्